• ट्रेण्डिङ्ग :
माओवादी जनयुद्ध दिवस
नेता फेरिए, योद्धा उस्तै (भिडियाेसहित)

नेता फेरिए, योद्धा उस्तै (भिडियाेसहित)


  • 9.3K
    SHARES
    • फाल्गुण १, २०७८ आइतबार
    • ४ बर्षs अघि
    • 14.4K Views

    नेता फेरिए, योद्धा उस्तै (भिडियाेसहित)

    नेपालगञ्ज, १ फागुन। आजकै दिन अर्थात २०५२ फागुन १ गते तत्कालीन नेकपा माओवादीले व्यवस्था परिवर्तनका लागि जनयुद्ध थालनी गरेको थियो। त्यतिबेला जाजरकोटस्थित नलगाढ–४, पीपलचौर (हालः बाँके बैजनाथ गाउँपालिका–४, जनमत टोल) की पार्वती रावल बुढा स्कुले थिइन्। एउटा स्कुले बालिका हुनुको कारणले परिवारबाट मात्र होइन समाजबाट हुने हिंसा बाध्यताले सहनु पर्‍यो। हिंसा सहनुबाहेक अरु विकल्प पनि थिएन। जब उनले माओवादीको आन्दोलनप्रति झुकाब राखिन् र केही बुझन् थालिन्, ‘अनि सुरु गरिन् विद्रोह ।’

    images

    त्यतिबेला गाउँकै चार जना व्यक्तिको हत्या भएको उनैले देख्नु पर्‍यो। सरकारी सुराकीले अनेक दमन गर्थे। जुन हिंसा र दमन आफूले खेपिरहेकी थिइन्, त्यसका विरुद्धमा आन्दोलन चलेपछि उनले विद्रोहको आवाज उठाइन् र २०५७ सालमा पूर्णकालीन माओवादी आन्दोलनमा होमिइन्। त्यस भन्दा पहिला उनी २०५६ सालमा पनि माओवादी आन्दोलनमा लागेकी थिइन्। पछि आमाको उपचार गर्ने भएपछि घर फर्किनु परेको थियो। व्यवस्था परिवर्तनसँगै जनताको जीवन परिवर्तन गर्ने अठोटका साथ जनयुद्धमा होमिएकी पार्वती कयौं लडाइँको अग्रमोर्चामा रहिन्। गोलाबारुद्ध सँगसँगै उनको दिन र रात कट्यो।

    अहिले पनि पार्वतीको शरीरमा ४०/५० भन्दा बढी गोलीका छर्राहरु छन्। जसले उनलाई जनयुद्ध झल्काइ रहन्छ। व्यवस्था परिवर्तनका लागि मृत्यु रोजेर लडाइँ लडेकी उनले व्यवस्था परिवर्तन त गरिन्, तर विडम्बना उनको जीवन फेरिन सकेन। अहिले उनी सामान्य नागरिकभन्दा फरक छैनिन्। परिवार पाल्न दैनिक श्रम गर्नै पर्छ। उसो तः उनका श्रीमान् जयबहादुर बुढा पनि माओवादी लडाकु हुन्। उनीहरुले २०६० सालमा युद्धकै बेला जनवादी विवाह गरेका थिए। जयबहादुर अहिले घरपरिवार चलाउन मलेसियामा छन्। पार्वती घरधन्दा चलाउँछिन्। जनयुद्ध लडेका पार्वती मात्र होइन धेरै लडाकु अहिले आफ्नै जीवन निर्वाहका लागि संघर्षरत छन्, जो हिजो जनता र देशका लागि जीवज समर्पित गरे।

    स्वच्छिक अवकाशका नाममा केही रकम थमाएर त पूर्व लडाकुलाई घर फिर्ता पठाइयो तर, पछि उनीहरुको अवस्थाका बारेमा कहिले पनि राज्यले पछाडि फर्केर हेरेन। सरकार मात्र होइन, जनयुद्ध थालनी गर्ने दलका नेताहरु पनि आफ्ना पूर्व लडाकुको अवस्थामा विषयमा चासो नै राखेन, जसले गर्दा माओवादी शक्तिविहीन हुनु पुर्‍यो। यसमा पार्वतीलाई कुनै पश्चाताप छैन। बरु मृत्युभन्दा मुक्तिलाई आत्मसाथ गरेर लड्दा परिवर्तन आएकोमा उनी खुसी व्यक्त गर्छिन्। ‘म जस्ता हजारौँ युवायुवती नलडेको भए परिवर्तन हुने थिएन,’ उनी भन्छिन्, ‘हामीले व्यवस्था र जनताको अवस्था फेरिम्।’ अहिले आफ्नो अवस्था फेर्न संघर्ष गरिरहेको उनको भनाइ छ।

    व्यवस्था परिवर्तन भएसँगै शाषण र दमनबाट नागरिकले मुक्ति पाएको उनको भनाइ छ। उनले लडाइँका क्रममा कयौं शारीरिक र मानसिक यातना खेप्नु पर्‍यो। सेना र प्रहरीले दिने यातनाभन्दा उनलाई जनताले भोग्नु परेको दमन र शोषण नै बढी पीडादायी थियो। उनी अर्घाखाँची कारबाहीमा त मृत्युको मुखसम्म पुगिन् तर, बाँच्न सफल भइन्। जनयुद्धबेला तालिम लिएका, बसेका र प्रशिक्षणलगायतका ठाउँ त्यतिधेरै ख्याल छैन उनलाई। तितिमिति पनि राम्रोसँग याद छैन। राजनीतिक प्रशिक्षण र नक्सा जानकारी पछि उनीहरु अर्घाखाँचीतिर लागे। करिब दुई दिन लगाएर उनीहरु नेपाली सेनाको ब्यारेक आक्रमण गर्ने स्थलसम्म पुगे। करिब रातिको ११ बजेतिर कारबाहीका लागि लडाकु टोली अगाडि बढ्यो। विद्रोही स्वभावकी पार्वती पनि अगाडि बढिन्। उनलाई मृत्यु भन्नेसँग डर नै छैन।

    नेपाली सेनाको ब्यारेक घेरिएको काँडेतारलाई छिचोल्दै भित्र पसिन्, एउटा बत्तिमुनि लुकिन्। एउटा सिमेन्टको पोल थियो। ठूलो बत्ति थियो, तर बत्तिमुनि अँध्यारो। अडेस लिएर गोली हान्न उपयुक्त ठाउँ हुँदा उनी त्यहाँसम्म पुगेकी थिइन्। तर, नेपाली सेनाले थाहा पाएर एकोहोरो उनीतिरै गोली चलायो। पहिलो गोली नै उनको खुट्टामा लाग्यो। अर्काे गोली उनको हात लाग्यो। लगत्तै सीधै गोली छातीमा लाग्यो र उनी बेहास भइन्। लडाइँ सुरु गरेको करिब आधा घण्टामै उनलाई गोली लाग्यो र ढनिल्।

    दोहोरो भिडन्त हुँदा पनि पार्वतीको होस खुलेन। धेरैपछि उनी ढलेकै नजिक ठूलो आवाजमा बम पट्कियो। त्यही आवाजसँग उनी ब्युँझिइन्। उनलाई साथीले बोलाइन्, तर उद्दार गर्न जति अगाडि बढे उनीहरु सहिद भए। ब्यारेक नजिक उनी छटपटिरहिन्। कम्मरमा पानी भिरेकी छिन् तर झिकेर खान सक्ने स्थिति छैन। बिहानको करिब ३ बजिसकेको थियो। अलिअलि शीत थियो। भुइँमा लागेको शीतलाई चाटेर प्यास मारिन्। शरीरबाट रगत बगिरहेको छ। त्यतिबेला कोड नम्बर र पासपोर्ट दिइएको हुन्थ्यो। जहाँ नाम लिएर साथीलाई बोलाउन पाइँदैनथ्यो। आफ्नो अन्तिम अवस्था भएपछि उनले साथीलाई बोलाइन्। तर उनी भएका ठाउँमा अरु आउनै सकेनन्। बिहान उज्यालो हुनैथाल्दा गोलीहरु कम चल्न थाले। ‘त्यसपछि साथीहरु मसम्म पुगे र मलाई उद्दार गर्नुभयो,’ उनले भनिन्, ‘त्यसपछि त उपचारमै रहेँ।’ करिब उनले दुई महिना उपचारमा बिताइन्। उपचार पूर्णरुपमा सकिएको थिएन, उनको टोली जुम्ला कारबाहीमा जान तयारी थियो। आफ्नै अटेरीले उनी उक्त कारबाहीमा पनि पुगिन्। लडाइँको पहिलो घेरामा नभइ तेस्रो घेरामा रहेर साथीहरुलाई सघाइन्।

    सेनासँग उनको जम्का भेट धेरै भयो। भागभाग पनि उस्तै भयो। पूर्वबाट उनी गिरफ्तारमा परिन्। त्यतिबेला १२ महिना जेल र १३ महिना बेपत्ता बनाइयो। त्यतिबेला उनले मानसिक र शारीरिक यातना ठूलै खेप्नु पर्‍यो। त्यतिबेला गिरफ्तारीमा परेकी उनी शान्ति प्रक्रियापछि मात्र रिहाइ भइन्। आत्मसमर्पण गराउन नसकेर नेपाली सेनाले पावर्तीलाई नेपाल प्रहरीको जिम्मा लगायो। त्यहाँ भने उनलाई केही सहज भएको थियो। अनेकन यातना दिँदा पनि उनले आत्मसमर्पण गरिनन्। ‘बरु मलाई मृत्यु स्वीकार थियो,’ उनी भन्छिन्, ‘तर आत्मसमर्पण स्वीकार गरेन्।’ त्यतिबेला उनलाई जीवन बचाउनुभन्दा सर्वहाराको सत्ता स्थापना गर्नु स्कुलिङ थियो।

    यस्ता कयौं अनुभव सम्हालेकी उनी सामान्य जीवन बिताइरहेकी छिन्। नियमित उपचार गर्नै उनलाई सकस छ। ‘औषधि सेवन नगर्दा शरीर दुखेर बस्न, सुत्नै सक्दैन,’ उनी भन्छिन्, ‘शरीरभित्र भएका छर्रारहरु बेलाबेला दुख्छन्।’ अहिले ति गोलीका छर्राहरु निकाल्न नसक्ने अवस्थामा छन्। उनी भन्छिन्, ‘व्यवस्था परिवर्तन भयो। आंशिक नेताको जीवन पनि अस्वाभाविक फेरियो तर हिजोका लडाकु अहिले कित बारीमा की भने खाडीमा छन्।’

  • सम्बन्धित विषय:

  • # माओवादी जनयुद्ध दिवस

  • तेस्रो आँखा