काठमाडौं, १ फागुन। मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) विरुद्ध सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी) का भातृ संगठनहरुले आइतबार माइतिघरमा आन्दोलन गरेका छन्।
नेकपा एसका विभिन्न जनवर्गिय संगठनहरुले एमसीसी परियोजना राष्ट्रहितको विरुद्धमा रहेको भन्दै माइतिरमा आन्दोलन गरिएको हो। आन्दोलनमा नेकपा (एस) का उपाध्यक्ष उप–महासचिव, नेपाल प्रेसका अध्यक्ष तथा पदाधिकारी अनेरास्ववीयु, राष्ट्रिय युवा संघ, लगायत विभिन्न संगठनमा नेता कार्यकर्ताको उपस्थिति रहेको थियो।

नेकपा एकीकृत समाजवादी पार्टी सत्ता साझेदार दल हो। नेकपा एस आफ्ना नेता कार्यकर्ता सडकमा उतारेर सरकारको विपक्षमा उभिएको छ।
एमसीसीले पूर्वप्रतिवद्धताअनुसार फेब्रुअरी २८ भित्र सम्झौता संसदबाट अनुमोदन गर्न आग्रह गर्दै पत्र पठाइसकेको छ। तर गठबन्धन दलहरुभित्रै एमसीसीका विषयमा कुरा नमिल्दा संसद बैठकमा पेश हुने नहुने अझै अन्योल छ। सत्तामा बस्ने दलहरुले नै प्रधानमन्त्रीको प्रस्तावविरुद्धमा आन्दोलनको घोषणा गर्नु र आन्दोलन गर्नु जायज नभएको जानकारहरु बताउछन्।
तर समाजवादीका नेताहरुले भने देश भन्दा माथि पार्टी, सरकार, केही नभएको बताएका छन्। माइतीघर मण्डलामा आयोजित एमसीसी खारेज गर भन्ने आन्दोलनमा सबै नेताहरुले एमसीसीको विरोध गरेका छन्। यो परियोजना खारेज नभए आन्दोलन थप चर्काउने उनीहरुले चेतना दिएका छन्।
