काठमाडौं, २ फागुन। नेकपा एमालेले एमसीसीलाई पास गर्ने नियतका साथ प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरिएकाे निष्कर्ष निकालेको छ। सोमबार बसेको एमाले संसदीय दलको बैठकले यस्तो निष्कर्ष निकालेको हो।
विभिन्न सांसदहरुको धारणा सुनिसकेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोगको प्रस्ताव दर्ता गर्नुका तीन कारण खुलाएका थिए। बैठक पछि एमाले प्रमुख सचेतक बिशाल भट्टराईले महान्यायाधीश विरुद्धको अविश्वासको प्रस्ताव निर्वाचन सार्न खोज्ने, टार्न खोज्ने र एमसीसी पास गर्ने रणनीतिका साथ आएको बताए।
‘सबै माननीय ज्यूहरुको धारणा सुनिसकेपछि अध्यक्ष केपी शर्मा ओली ज्यूले प्रधानन्यायाधीश विरुद्धको महाअभियोग प्रस्ताव आउनुका तीन कारण खुलाउनु भयो,’ बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै भट्टराईले भने ‘पहिलो निर्वाचन सार्न खोज्ने, टार्न खोज्ने, लोकतन्त्रमाथी निरन्तर हमला गर्ने र एमसीसी पास गर्ने रणनीतिका साथ महाअभियोगको प्रस्ताव आएको अध्यक्षले सुनाउनु भयो।’
तर एमालेले जबरालाई जोगाउनुपर्छ भन्ने पक्षमा नरहेकोसमेत उनले बताए। जबरामाथि एमालेकोसमेत आलोचना भएको भन्दै उनले भने ‘त्यो चिज के नियतले आयो ? भन्ने मात्रै हाम्रो प्रश्न हो।’ यसैगरि उनले अन्य न्यायाधीश र सभामुखविरुद्ध एमालेले महाअभियोगको प्रस्ताव दर्ता गर्ने भन्ने हल्ला निराधार रहेकोसमेत बताए। एमालेले यसबारेमा कुनै निर्णय नगरेको उनको भनाइ छ। ‘त्यो कसै कसैको पूर्व अनुमान मात्रै हो,’ उनले भने ‘सभामुख र अन्य न्यायाधीशहरुलाई एमालेले महाअभियोगको प्रस्ताव दर्ता गर्ने भन्ने कुरा साँचो हैन, एमालेले कुनै निर्णय गरेको छैन।’
यसैगरि एमालेले वर्तमान सरकारले गरेका गलत कामकाविरुद्ध एमालेले सडक आन्दोलनलाई बढाउनेसमेत जनाएको छ। ‘हामी अब सदनमाा मात्रै हैन, सदन सँगै सडक र कानुनी लडाइसमेत लड्ने गरि अगाडि बढ्छौँ,’ उनले भने ‘यसबारेमा पदाधिकारी बैठक बसेर टुंगो लगाउने भन्ने कुरा अध्यक्षले गर्नुभएको छ ।’
