• ट्रेण्डिङ्ग :
संकटमा पुर्खौली पेशा, संरक्षणमा छैन कसैको चासो 

संकटमा पुर्खौली पेशा, संरक्षणमा छैन कसैको चासो 


  • 3.6K
    SHARES
    • श्रावण ७, २०८१ सोमबार
    • २ बर्षs अघि
    • 5.6K Views

    संकटमा पुर्खौली पेशा, संरक्षणमा छैन कसैको चासो 

    भरत विश्वकर्मा,रोल्पा ७ साउन/ प्राचीन समयदेखि गाउँघरमा जिविकोपार्जनका निमित्त गरिदै आएका पुर्खौली पेशाहरु पछिल्लोसमय संकटमा पर्न थालेका छन् । आधुनिक प्रविधिको प्रयोगमा विद्धि हुन थालेपछि आरन, माटोको भाडा बनाउने, काठ्बाट भाडा बनाउने, जाँतो बनाउने लगाएतका पुर्खौली पेशाहरु संकटमा परेको हो । 

    images

    रोल्पाको सुनिलस्मृती गाउँपालिका ७ तेवाङका केशरमान कामीको पुर्खौली पेसा आरन पेशा हो । उमेरले ६० वर्ष कटेका केशरमान अहिले पनि दैनिक रुपमा आरनमै रहन्छन । जसोतसो आरनबाटै जिविकोपार्जन गरिरहेका उनले पछिल्लो समय यसबाट जिविकोपार्जनमा समस्या भएको बताउछन । उनले भने आरनबाट जिविकोपार्जन गर्न गार्हो छ, पछिल्लो समयमा बजारकै उपकरणको प्रयोग बढी भएको कारण यस्तो अवस्था आएको हो ।

    आधुनिक प्रविधिको प्रयोगमा वृद्धिहुन थालेपछि पुर्खौली पेशाबाट जिविकोपार्जन गर्न गार्हो भएको छ । साथैपुर्खौलीपेशाहरु संकटमा पर्दा एक पुस्ताबाट अर्को पुस्तामा सीप हस्तान्तरणमा समेत चुनौती देखिएको छ । यसले गर्दा प्राचिन समयदेखि गरिदै आएका पेशाहरु नै संकटमा पर्ने देखिएको छ ।

    पुर्खौली पेशाबाट मनग्य आम्दानी गर्न नसकिने भएकाले आफुभन्दा पछिका छोरा-नातीहरुले यस व्यवसाय प्रती खासै चासो नदिएको केशरमानले बताए । यसबाट खासै आम्दानी नभएको कारण छोराहरू विदेशिएको उनले बताए । बाबु बाजेले आरनबाटै सहजै जिवीकोपार्जन गरेका थिए । पछिल्लो समय यस पेशाबाट जिवीकोपार्जन गर्न सकिने अवस्था आएन उनले भने । आफ्नो ५ सन्तान मध्ये २ वटा छोराहरु विदेश गएकोमा उनले गुनासो गरे । हाटमा सीप भएर पनि राम्रो आम्दानी नहुदा सन्तान विदेशिनु परेको उनले दुखेसो व्यक्त गरे ।

    केशरमान जस्तै पुर्ख्यौली पेशाको रुपमा सुनिलस्मृति गाउँपालिका वडा नम्बर ३ रुइनिबाङम आरन व्यवसाय गर्दै आएका कुल बहादुर विकले पनि पहिलो जस्तो पछिल्लो समय व्यावसाय कमजोर हँदै गएको बताए । बजारमा सबै सामानहरु तयारी अवस्थामा उपलब्ध हुन थालेपछि आरन पेशामा समस्या पर्न थालेको उनले बताए । पुर्यौली पेशाहरु संकटमा पर्नुमा विशेष गरी यसको संरक्षणमा कुनै निकायको खासै चासो नहुँदा पनि समस्या भैरहेको उनको भनाई छ। 

    सानै देखि आरन व्यवसाय गर्दै आएका विक अहिले ७० वर्षका भए । उनले फलामबाट विभिन्न घरायसी सामाग्रीहरु बनाउछन् । ूहातमा सीप छ तर बजार राम्रो छैन् धेरै मेहेनत गरेर सामाग्रीहरु तयार पार्दछौ तर भनेजस्तो मुल्य पाउनै मुस्किल हुन्छू भनले भने अब आरन व्यवसाय गरेर जिविकोपार्जन गर्न धौ धौ भएको छ । धेरैले आरनबाट आम्दानी हुन छाडेपछि दोस्रो विकल्प खोजिसके आफुभने अरु काम गर्न सक्ने उमेर पनि नभएको कारण अर्को विकल्प रोज्न नसकेको उनले बताए । 

    विगत केही वर्ष यता पुर्वी रोल्पाको मुख्य व्यापारिक केन्द्र सुलिचौर नजिकैको लुंग्री खोलाको तिरमा पावल र पवन विक काठबाट भाडा बनाउने काम गछन् । यो उनीहरूको पुर्खौली पेशा हो । उमेरले करिब ३०/३५  वर्ष पुगेका उनीहरुको यो पेशा जिविकोपार्जनको मुख्य आधार भने बन्न सकेकोछैन । उनीहरू फुर्सदको समयमा मात्र काठबाट भाडा बनाउने सिपको सदुपयोग गर्दै आएका छन् । काठबाट भिविन्न डिजाइनका सामाग्री तयार गर्ने  सीप भएका उनीहरुको सिपले उचित बजार पाउन सकेको छैन । 

    काठबाट ठेकी, चक्ला,बेल्ना बट्ल कोठा सिङ्गारनको लागि विभिन्न काठबाट निर्मित सामाग्री लगाएतका वस्तुहरु बनाउन सकिन्छ ।  बजारमा प्रसस्त मात्रामा आल्मुनियम र प्लास्टिकबाट  तयार गरिएका सामाग्रीहरु उपलब्ध हुन थालेपछि काठको भाडा संकटमा परेको पावल विकले बताए । काठबाट बन्ने भाडामा मेहनत बढी हुन्छ मेहेनत अनुसार आम्दानी उठाउन सार्है गार्हो परेको पावल बताउछन् । 

    गाउँघरमा जिविकोपार्जनका लागि गरिदै आएका पेशाहरु संकटमा पर्नु अत्यन्त दुखत कुरा त हो तर यसको संरक्षणमा कुनै पनि निकायको ध्यान नदिनु अझ दुस्खद कुरा हो । सरकारले स्थनीय स्तरमा उत्पादन भएका सामाग्रीलाई प्राथमिकता नदिनु वजारिकरणका लागि समन्वय नगर्दा पनि स्थानीय उत्पादनले बजार पाउन नसकेको हो । 

    पछिल्लो समयका युवा पुस्ताले पुर्ख्यौली पेशा सिक्न खोज्दैनन् । उनीहरुलाई पुर्ख्यौली पेशाबाट केहि हुन्न भन्ने लागेको छ । पुर्ख्यौली पेशाप्रति युवाहरुको आकर्षण घट्दै गएको छ । स्थानीय प्रदेश र संघ गरी तिनै तहका सरकारले पुर्ख्यौली पेशाको संरक्षणमा जोड दिन आवश्यक छ । पुर्ख्यौली पेशाबाट पनि जिविकोपार्जन गर्न सक्ने वातावरण मिलाउन सके आर्थिक विकास र रोजगारिमा समेत सहयोग पुग्ने थियो । पुर्ख्यौली पेशहरुको संरक्षणका आधुनिक प्रविधिसँग जोड्न आवश्यक छ । 

    t1.jpg
    undefined


    तेस्रो आँखा