काठमाडौं ७ साउन/ नेकपा एमालेले लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा लीला गिरीको ठाउँमा चेतनारायण आचार्यलाई बनाउने भएको छ ।
यसअघि एमाले संसदीय दलका नेता लीला गिरी मुख्यमन्त्री बन्ने पक्का भएको बताइएको थियो । तर एकाएक नेकपा एमाले केन्द्रको निर्देशनमा गिरीलाई पछि पार्दै आचार्य मुख्यमन्त्री बनाउने तयारी गरेको छ ।
यसले लुम्बिनीमा उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलबीच गुटगत प्रतिस्पर्धा छ भन्ने प्रस्ट भएको छ । गिरी पौडेल पक्षका हुन् भने आचार्य पोखरेलसँग नजिक छन् । आचार्यले आफूलाई मुख्यमन्त्री बनाउने निर्णय भएको पुष्टि गरे ।
यसअघि गिरी मुख्यमन्त्री थिए । तर, केन्द्रमा गठबन्धन फेरिएसँगै उनले राजीनामा दिएका थिए । कांग्रेससँगको भागवण्डामा लुम्बिनीको नेतृत्व एमालेको भागमा परेको छ । आचार्यले आजै मुख्यमन्त्रीमा दाबी गर्ने तयारी गरेका छन् । यसअघि आइतबार माओवादीका मुख्यमन्त्री जोखबहादुर महराले राजीनामा दिएका थिए ।
लुम्बिनी एमालेमा जिल्ला र प्रदेश अधिवेशनका क्रममा पनि चर्को विवाद देखिएको थियो । जिल्लामा पोखरेल समूहले बर्चस्व कायम गरेको थियो भने प्रदेशमा पौडेल हावी भएका थिए ।
