काठमाडौँ, फागुन ५ । सत्ता गठबन्धनमा किचलोको बिषय बनेको एमसीसीका बिषयमा सहमती कायम गर्ने ‘अन्तिम प्रयास’ स्वरुप आज गठबन्धन भित्र छलफल हुँदैछ । भोली बस्ने संसद बैठकमा एमसीसी प्रस्तावलाई दर्ता गर्नेमा कांग्रेस तम्तयार छ । तर गठबन्धनका अन्य दलहरु भने कांग्रेससंग सहमत छैनन् । एमसीसीका बिषयमा आज बेलुका बस्ने बैठकमा सहमती भए गठबन्धन जोगिने अन्यथा गठबन्धन तोडिने चेतावनी दिएको छ ।
माओवादीका प्रमुख सचेतक देव गुरुङले तेस्रो आँखासंग भने ‘आज कुरा मिल्यो भने गठबन्धन टिक्छ, नत्र भत्कन्छ ।’ माओवादीले एमसीसीका बिषयमा सहमती हुन सक्ने तीन निर्विकल्प सर्त तेस्र्याएको छ । प्रमुख सचेतक गुरुङका अनुसार कांग्रेसले भनेजस्तै सहज तरिकाले एमसीसी पास गर्न खोजिए गठबन्धन टिक्ने छैन । गुरुङले माओवादीको पहिलो सर्त एमसीसी बिना शंशोधन पास गर्नै नहुने रहेको बताए ।
‘एमसीसीलाई बिना शंशोधन पास गर्न हुँदै हुन्न,’ उनले भने ‘यदी यो सर्तमा सहमती नभए गठबन्धन रहन्न ।’
यसैगरि शंशोधित एमसीसी संसदमा जारी गतिरोध अन्त्य भए मात्रै पेश गरिनु पर्ने माओवादीको अर्को सर्त छ । ‘पहिला त संसदमा जारी गतिरोध अन्त्य हुनुपर्यो, अन्त्य भएर मात्रै पनि भएन,’ उनले भने ‘संसदका सबै दलहरुको साझा सहमतीमा मात्रै पेश गरिनु पर्छ ।’
यदी यी बुँदामा सहमती नभए गठबन्धन जोगाउन सकिने माओवादीको अर्को सर्त भनेको एमसीसी टेबल गर्ने समयावधि पर धकेल्ने नै हो । ‘यी बिषयमा सहमती नजुटेपछि गठबन्धन जोगाउन सकिने अर्को एक मात्रै बिकल्प भनेको एमसीसी टेवल गर्ने समय पर धकेल्ने हो,’ गुरुङले भने ‘यदी यी कुनै पनि बिषयमा कुरो मिलेन भने त गठबन्धन किन र केका लागि चाहियो नि ?’
आज बेलुका बस्ने यी बिषयमा केन्द्रीत रहेर छलफल हुने र छलफलमा कुरा मिलाउने प्रयास हुने गुरुङले बताए ।
