तुलसीपुर, १९ साउन । दाङकाे तुलसीपुरमा खाेलामा आएकाे बाढीले बगाउँदा दुई जना यात्रु बेपत्ता भएका छन् ।
तुलसीपुर उपमहानगरपालिका–४ स्थित बेतनी खाेलामा आएकाे बाढीले अटाे बगाउँदा अटाेमा सवार खाद्रे निवासी ५६ वर्षीया सिता आले र सुर्खेत घर भइ हाल साेही ठाउँमा बस्दै आएकी १७ वर्षीया मञ्जु खड्का बेपत्ता भएका हुन् ।
शुक्रबार बेलुका तुलसीपुरबाट खाद्रे जाँदै गरेकाे रा१ह ४०५५ नम्बरकाे अटाेलाई बेतनी खाेलामा आएकाे बाढीले बगाएकाे थियाे । अटाेमा पाँच जना सवार थिए ।
ती मध्ये अटाे चालक ४६ वर्षीय हरिकिसन विक, ३४ वर्षीया सुनिता थापा र ७ वर्षीय सुशान्त आले भने बाढीबाट उत्रन सफल भएका छन् । बेपत्ताहरुकाे खाेजीका लागि १० जनाकाे प्रहरी टाेली खटिएकाे छ ।
खाेलामा बाढीकाे बहाव नघटेका कारण बेपत्ताहरुकाे खाेजी कार्य प्रभावित भएकाे इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले बताए ।
