तुलसीपुर, २० साउन । दाङको तुलसीपुरबाट सल्यान जाँदै गरेको जीप दुर्घटना हुँदा ७ जना घाइते भएका छन् । घाइते मध्ये एक जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । घाइते हुनेमा सल्यानको त्रिवेणी गाउँपालिका–३ टोटके निवासी ४६ वर्षीय यमबहादुर केसीको टाउको र छातीमा चोट लागेको छ । उहाँको अवस्था गम्भिर रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले बताउनु भयो ।
त्यसैगरी सोही ठाउँका ४५ वर्षीया ऐश्वर्या केसीको टाउको र ढाडमा चोट अवस्था मध्यम, ४५ वर्षीया पार्वती केसीको टाउको र ढाडमा चोट अवस्था मध्यम, सोही ठाउँकी ३४ वर्षीया रेखा वलीको टाउको र ढाडमा चोट अवस्था सामान्य रहेको थापाले बताउनु भयो ।
त्यसैगरी रुकुम पश्चिमकी २५ वर्षीया सरिता खड्का, सल्यान त्रिवेणी–३ की ३१ वर्षीया रोजी वली र लमजुङ मध्यनेपाल नगरपालिका–७ की २४ वर्षीया लिला बास्तोलाको अवस्था सामान्य रहेको थापाले बताउनु भयो ।
रा१ज ७७० नम्बरको जिप आइतबार साढे ६ बजेको समयमा शान्तिनगर–१ हाडिचारमा आफै अनियन्त्रित भइ पल्टिएको थियो । घाइतेहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । जिप चालक फरार रहेको र उनको खोजीकार्य जारी रहको थापाले बताउनु भयो ।
