काठमाडौं, ६ फागुन । एमसीसीको विरोधमा आज पनि प्रदर्शन हुने सम्भावनालाई मध्यनजर गर्दै संसद भवन वरपरका क्षेत्रमा प्रहरीको तैनाथी बढाइएको छ । संसद भवनको मुख्य गेट, नयाँबानेश्वर चोक, एभरेष्ट होटल लगायतका क्षेत्रमा उल्लेख्य संख्यामा प्रहरीहरु खटाइएको छ ।
नयाँबानेश्वर चोकमा प्रदर्शनकारीमाथि प्रयोग हुने पानीको फोहोरा हान्ने गाडी तैनाथ गरिएको छ । प्रदर्शनकारीमाथि पानीको फोहोरा फाल्ने गाडी संसद भवनको पार्क क्षेत्रमा राखिएको छ । नेपाल प्रहरीको उक्त गाडी संसद सचिवालयका कर्मचारीहरु आज बिहान कार्यालय जाँदा संसद भवन भित्रै थियो ।

अहिले भने सो गाडीलाई प्रहरीले संसद भवन परिसरबाट बाहिर निकालेको छ । यही बुधबारको दिन एमसीसीको विरोधमा संसद भवन अगाडीको सडकमा प्रदर्शन गर्नेहरुमाथि प्रहरीले पानीको फोहोरा र अश्रुग्यास प्रयोग गरेको थियो । आज पनि प्रदर्शन हुन सक्ने अनुमानमा संसद भवन परिसर वरपर प्रहरुरीको तैनाथी बढाइएको छ ।
