• ट्रेण्डिङ्ग :
थापाका लागि तामाङले कसरी जोगाइदिए ‘राप्रपा नेपाल’ ?

थापाका लागि तामाङले कसरी जोगाइदिए ‘राप्रपा नेपाल’ ?


  • 16.9K
    SHARES
    • फाल्गुण ७, २०७८ शनिबार
    • ४ बर्षs अघि
    • 26.0K Views

    थापाका लागि तामाङले कसरी जोगाइदिए ‘राप्रपा नेपाल’ ?

    काठमाडाैं, ७ फागुन। राप्रपा परित्याग गरेपछि राजनीतिक यात्रा के हुने भन्ने अन्यौलमा थिए कमल थापा। उनकै भनाइ अनुसार उनी राजनीतिबाट टाढै रहन चाहन्थे। थापाले पार्टी परित्याग गरेपछि थापासँग लाक्पा तामाङ भेट्न गईपुगे। तामाङले ३ वर्ष अघि निर्वाचन आयोगमा दर्ता गरेको राप्रपा नेपालको नेतृत्व गरिरहेका थिए। थापाले पार्टी परित्याग गरेपछि दुईपटक थापासंग भेटेका तामाङले एउटै आग्रह गरे ‘तपाई पुरानै घरमा फर्किनुस्।’ तामाङको यो आग्रह पछि थापा मञ्जुर भए।

    images

    अन्ततः तीन वर्ष अघि निर्वाचन आयोगमा दर्ता भएको राप्रपा नेपाल थापाको आगामी राजनीतिक यात्राको ‘सारथी’ बनिदियो । उनै तामाङले राप्रपा नेपाललाई थापाका निम्ति ३ वर्ष देखि जोगाएर राखिदिए अनि शनिबार पार्टीको नेतृत्व उनै थापालाई सुम्पिदिए। ‘म सकृय राजनीतिबाट बिदा लिएर निष्कृय रुपमा बस्ने योजनामा थिएँ,’ थापाले भने ‘तर लाक्पा भाईहरुले मलाई दुई पटक भेटेर पुरानै घरमा फर्कन आग्रह गर्नुभयो, मेरा शुभचिन्तकहरुको यो आग्रह बमोजिम म यो पार्टीमा आएँ।’

    धनकुटाका तामाङ तत्कालीन राप्रपा नेपालको जिल्ला उपाध्यक्ष थिए। जिल्ला उपाध्यक्ष हुँदा उनले जिल्लामा भ्रष्टाचार विरोधी अभियानको सुरुवात गरेका थिए। तर एक पदाधिकारीले उक्त अभियान रोक्न दबाब दिए। ‘अभियान रोक, तिमीले अभियान थाल्दा हाम्रा कार्यकर्ताहरु पक्राउ पर्न सक्छन्,’ शनिबार काठमाडौंमा राप्रपा नेपाल घोषणा समारोहमा उनले भने ति नेताको भनाइ उदृत गर्दै भने ‘अनि तिमीलाई पार्टीबाट कारबाही गर्नुपर्छ।’ तीन नेताको यो धम्कीले तामाङको राजनीतिलाई नैराश्य बनाइदियो। यसैक्रममा राप्रपा नेपाल राप्रपामा बिलय भयो। तर उनी यो एकीकरणमा सामेल भएनन्। उनी पुनः पुरानै दल दर्ताको प्रकृयामा लागे। तीन वर्ष अघि दल दर्ताका लागि धनकुटाबाट काठमाडौँ हानिए तामाङ । यो बेला उनी माथि लागेको आरोपले उनलाई केही गलायो तर थाकेनन्।

    ‘म सँग पैसा पनि थिएन, केहीले त यो केटो बौलायो भनेर मलाई निराश पनि पार्न खोजे,’ उनले भने ‘तर थाकेन, निरन्तर लागिरहेँ।’ त्यसो त, उनले यो दल दर्ताका लागि आमाको आशिर्वादलाई प्रमुख मानेका छन्। ‘म व्यापार व्यवसाय, जताततै फेल भएको थिएँ,’ उनले भने ‘अनि आमाले आशिर्वाद लिएर जा भनेर मलाई पार्टी गठनका लागि काठमाडौं पठाउनु भयो, म सम्झन्छु आमाले मलाई त्यो बेला १५ सय रुपैयाँ दिनु भएको थियो।’ शनिबार पार्टी घोषणा कार्यक्रममै रहेकी उनकी आमालाई तामाङले स्टेज अगाडि बोलाएर पुनः आशिर्वाद लिएका थिए। तामाङकाअनुसार उनकी बहिनीलाई विदेश पठाउने क्रममा उनकी आमा काठमाडौं आएकी थिइन् । त्यसै बेला आमा, बहिनीहरु मिलेर नयाँ दल राप्रपा नेपाल दर्ता गरेका थिए।  दल दर्ता गरेपनि उनको पार्टी निष्कृय प्रायः थियो । नत पार्टीको नेतृत्व गरिरहेका तामाङनै सकृय राजनीतिमा चलेका थिए।

    तर अफसोच राप्रपा परित्याग गरेका थापालाई यो पार्टीको नेतृत्व तामाङले सुम्पिदिएका छन्। थापाको नेतृत्वपछि राप्रपा नेपालले राष्ट्रिय राजनीतिमा बेजोड गती लिने विश्वास उनको छ। ‘मैले आज देखि मेरा श्रद्धेय अध्यक्ष कमल थापा ज्यूलाई यो पार्टीको नेतृत्व सुम्पिदिएको छु,’ उनले भने ‘यो पार्टी अब नेपालमा ठूलो राष्ट्रवादी शक्तिका रुपमा उदाउने छ ।’   
     

       

     

     


    तेस्रो आँखा