हापुरे, ३० साउन । दाङको बबई गाउँपालिकाले बजार अनुगमन कार्यलाई तिब्र पारेको छ। स्थानिय ब्यापार ब्यबसायलाई प्रबर्द्धन गर्न, करको दायरा फराकिलो बनाउन र ब्यापार ब्यबसायलाई स्थानिय सरकारको महातहतमा ल्याउन बजार अनुगमनलाई तिब्रता दिएको बबई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेत नारायण कडेलले जानकारी दिनुभएको छ। स्थानिय बजारमा म्याद कटेका सामाग्री बिक्रीवितरण गर्ने हुदा त्यसले सर्वसाधारणको स्वास्थ्यमा गम्भीर असर गर्ने भन्दै सरकारले बजार अनुगमनलाई तिब्र पारेको प्रमुख प्रशासकीय अधिकृत कडेलले बताउनुभयो ।
सोमबार वडा नम्बर ७ को उल्का बजार र चरकमटिया क्षेत्रका ब्यवसायहरुको अनुगमन गरेको टोलिले मंगलबार बबई गाउँपालिका वडा नम्बर २ र ३ का ब्यापार ब्यबसायको अनुगमन गरेको छ। बबई गाउँपालिकाका प्रशासन शाखा प्रमुख तथा बजार अनुगमन समितिका सदस्य सचिव तेजेन्द्र घर्ती मगरको नेतृत्वमा पुगेको टोलिले वडा नम्बर २ को बिसौनीडाँडा, कालामाटा र बगाले वडा नम्बर ३ को घट्टेखोला चोक, पिसिओ चोक, हंसपुर बसपार्क लगायतका २० वटा एग्रोभेट, किल्निक, होटल, किराना, खाध्यान्न तथा कपडा पसलहरुमा अनुगमन गरिएको हो ।
२० वटा पसलहरुमा अनुगमन गर्दा अधिकांश पसलहरु दर्ता विना नै सञ्चालन भएको र दर्ता भएका पसलहरुले समेत नविकरण नगरेको पाइएको छ। पहिलो चरणमा ब्यबसायीहरुलाई ७ दिनको म्याद दिएर पत्र सहितको सुझाव दिएको छ । बजार अनुगमनलाई निरन्तरता दिने बताउदै प्रशासन शाखा प्रमुख तथा बजार अनुगमन समितिका सदस्य सचिव घर्तीले आगामी दिनमा कार्वाहीको प्रकृया अगाडि बढाउने समेत बताउनुभएको छ।
बजार अनुगमनमा बबई गाउँपालिकाका स्वास्थ शाखा प्रमुख हरिबहादुर खड्का, पशु शाखा प्रमुख श्यामप्रकाश चौधरी, सुचना अधिकारी पुरुषोतम अधिकारी, कृषि शाखा प्रमुख दिपेन्द्र डाँगी, सव इन्जिनियर शिकशंकर खड्का (रिदम) असिस्टेन्ट सव इन्जिनियर कमल बोहरा इलाका प्रहरी कार्यालय हापुरेका प्रहरी नायव निरिक्षक ललितकुमार वुढाथोकी सामुदायिक रेडियो हापुरे एफ.एम.का स्टेसन म्यानेजर रामप्रसाद सुवेदी लगायतको उपस्थिति रहेको थियो ।
