तुलसीपुर, ३१ साउन । राप्ती बहिरा संघको २५ औं स्थापना दिवस, रजत जयन्ती तथा बार्षिक साधारण सभा सम्पन्न भएको छ । विहिबार विएसएस पाटी प्यालेस तुलसीपुरमा कार्यक्रम भएको हो । राप्ती बहिरा संघका अध्यक्ष अजयकुमार शर्माको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका मेयर टीकाराम खड्काको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।
राप्ती बहिरा संघकी उपाध्यक्ष रुपा बिकको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा प्रमुख अतिथि मेयर खड्काले बहिरा तथा अन्य समुदायका व्यक्तिहरुलाई सरकारी, गैरसरकारी तथा समाजिक संघ संस्थाले आआपनो क्षेत्रबाट सहयोग गर्नुपर्ने बताउनु भयो । उहाँले त्यस्ता व्यक्तिहरुलाई ऐन नियमअनुसार सेवा प्रदान गरिने बताउनु भयो । ‘अपांगता भएका व्यक्तिलाई सांकेतिक भाषामा शिक्षा दिने हो भने उक्त व्यक्ति प्रतिस्पर्धा गर्न योग्य हुनेछ ।’ उहाँले भन्नुभयो ‘यहाँ मात्र नभइ देशभरमै सांकेतिक भाषाको विषय सञ्चालन गर्न सकिएको छैन ।’ मेयर खड्काले बहिरा व्यक्तिहरुका लागि आवास निर्माण गर्न ३ कठ्ठा जगा उपलब्ध गराउने रोप्शि शाहीलाई धन्यवाद दिनुभएको थियो ।
तुलसीपुर उद्योग वाणिज्य संघले प्रत्येक वार्षिक साधारणसभामा एक छात्र र एक छात्रालाई छात्रवृत्ति वितरण गर्ने गरी रु १ लाख ११ हजार १ सय ११ रुपैयाँकाे अक्षयकाेष स्थापना गरेको छ । उक्त अवसरमा उद्योग वाणिज्य संघका अध्यक्ष बिनिल केसीले बहिरा संघमा व्यक्तिगत तर्फबाट रु १ लाख १ हजार १ सय ११ रुपैयाँकाे अक्षयकाेष स्थापना गर्नुभएको उद्योग वाणिज्य संघका महासचिव केशवराज केसीले जानकारी दिनुभयो ।
कार्यक्रममा दंगीशरण गाउँपालिकाको आर्थिक सहयोग, ठेट नेपालको प्राबिधिक सहयोग, राप्ती बहिरा संघको आयोजनामा चार जना व्यक्तिहरुलाई कृतिम खुट्टा र हात प्रदान गरिएको थियो । सोही अवसरमा राप्ती बहिरा संघलाई विभिन्न क्षेत्रमा सहयोग गर्ने निकाय, व्यक्ति र पदाधिकारीलाई सम्मान गरिएको हो । कार्यक्रममा संस्थाको प्रतिवेदन संघकी कार्यकारी निर्देशक प्रतिमा शर्माले प्रस्तुत गर्नु भएको थियो भने दोभाषेको भूमिका शिक्षिका स्मृति योगीले गर्नुभएको थियो ।
कार्यक्रमको सहजीकरण संघका सचिव डम्बरबहादुर वलीको अनुमतिमा देवा डाँगीले गर्नु भएको थियो ।
