तुलसीपुर, ०१ भदौं । दाङमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का ६५ बढी युवाहरुले पार्टी परित्याग गरेका छन् । तुलसीपुरको विपिचोक स्थित रिपोटर्स क्लवमा आज पत्रकार सम्मेलन गरी उनीहरुले पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।
पत्रकार सम्मेलनमा बोल्दै क्षेत्र नम्बर २ का सदस्य रहनुभएका विजय केसीले पार्टीका सभापतिमाथि लागेका विभिन्न आरोप प्रत्यारोप, स्टन्टबाजी, नाटकीय नौटंकी गरेको, युवाहरुलाई भ्रममा पार्ने, हामी कार्यकर्तालाई अव्यवहारिक तथा अमानवीय तरिकाले जाइलाग्न बाध्य बनाएको कारणले पार्टी परित्याग गरेको बताउनु भयो । साथै उहाँले आफूहरु कुनै रहर, प्रतिशोधले र कसैको दवावमा नभई केन्द्रीय राजनीति बुझेर नै पार्टी परित्यागको निर्णय गरेको बताउनु भयो ।
त्यस्तै तुलसीपुर नगर सभापति रहनुभएका मेघराज केसीले रास्वपा पार्टीभित्र चाप्लुसीवाद, नातावाद, धनवाद, पार्टीभन्दा पनि व्यक्तिवादी प्रवृत्ति हावी भएकाले पार्टी परित्याग गर्नु परेको बताउनु भयो । रास्वपा दाङका पूर्वसभापति कमल सुवेदीले एकल निर्णयमा आफ्ना मान्छेहरुलाई प्रदेश र केन्द्रमा पदीय जिम्मेवारी दिएको पनि उहाँ आरोप लगाउनु भयो ।
उक्त कार्यक्रममा नगरपूर्व सभापति रहनुभएका चित्रकुमार स्वर्णकार, भूपबहादुर भण्डारी, लक्ष्मीप्रिया प्रसाद आचार्यलगायतले बोल्नु भएको थियो । पार्टी परित्याग गरेका युवाहरुले स्वतन्त्र अभियान दाङ नामक कमिटि गठन गर्ने जनाएका छन् ।
