दाङ, ९ फागुन । आन्तरिक विवादमा रहेको जनता समाजवादी पार्टी फुटको संघारमा छ। मुलतः बाबुराम भट्टराई समूह र उपेन्द्र यादव समूहबीच पार्टीभित्र आन्तरिक विवाद देखिएको छ।
जसपा यादव समूहका एक नेताकाअनुसार भट्टराई समूहले पार्टी विभाजनका लागि हस्ताक्षर संकलनको अभियान सुरुवात गरेको छ। ति नेताकाअनुसार उनीहरुले पार्टीको केन्द्रीय समितिको बैठक बोलाउनका लागि दबाब सृजना गर्नका लागि हस्ताक्षर संकलन गर्न थालेका हुन् । तर यो हस्ताक्षरको उद्देश्य पार्टी विभाजन नै रहेको यादव समूहको दाबी छ ।
‘पार्टीको केन्द्रीय समितिको बैठक बोलाउनका लागि दबाब दिन भन्दै हस्ताक्षर संकलन सुरु गरेका छन्,’ यादव निकटस्थ जसपाका लुम्बिनी प्रदेश अध्यक्ष अशोक यादवले तेस्रो आँखासँग भने ‘तर उनीहरुको नियत भनेको पार्टी फुटाउने भन्ने नै हो।’ यादवकाअनुसार अहिलेको उनीहरुको हस्ताक्षरको लक्ष भनेकै ४० प्रतिशत पुग्छ वा पुग्दैन भनेर गर्न खोजिएको परिक्षण हो ।
‘केही अवसरवादीहरुले ४० प्रतिशत पुग्छ की पुग्दैन भनेर हस्ताक्षर अभियान सुरु गरेर परिक्षण गर्न थालेका हुन्,’ यादवले भने ‘४० प्रतिसत पुगेको खण्डमा पार्टी बिभाजन गरेर अलग हुने उनीहरुको नियत हो ।’
उनकाअनुसार भट्टराई समूह यही हस्ताक्षर संकलनका लागि नेताहरुको घरघरमा पुगिरहेको छ। ‘उनीहरु गडी लिएरै नेताहरुको घरघरमा पुगेर हस्ताक्षर संकलन गर्ने योजनामा रहेको सूचना पाईएको छ,’ यादवले भने ।
राष्ट्रियसभा निर्वाचनमा आफ्नो समूहबाट उम्मेदवार नबनाइएको तथा मन्त्री पद पनि भागमा नपारिएको भन्दै भट्टराई समूह यादव समूहदेखि रुष्ट बन्दै आएको छ ।
