काठमाडौं, ९ फागुन। राप्रपा परित्याग गरेपछि कमल थापाले तीन वर्ष अघि निर्वाचन आयोगमा दर्ता भएको नयाँ पार्टीको नेतृत्व सम्हाले । शनिबार राष्ट्रियसभा गृहमा थापाले आफ्नो नयाँ पार्टीको घोषणा गरे ‘राप्रपा नेपाल ।’ नयाँ पार्टीको नेतृत्व गरेपछि थापाले आफ्नो पार्टीको निर्वाचन चिन्ह ‘गाई’ माग गर्ने जानकारी दिएका छन् । थापाका अनुसार उनको नयाँ पार्टी राप्रपा नेपालको निर्णय नै चुनाव चिन्ह ‘गाई’ माग गर्ने भन्ने छ । थापाले पार्टीको निर्णय बारे जानकारी दिँदै सामाजिक सञ्जालमा लेखेका छन् ‘स्मरण रहोस् विगतमा राप्रपा नेपालको चुनाव चिन्ह गाई थियो ।’
थापाले माग्दैमा उनको पार्टीले गाई चुनाव चिन्ह पाउँछ त ? निर्वाचन आयोग भन्छ ‘आयोगको पुरानो निर्णयले त्यो कदापी दिँदैन।’ आयोगका अनुसार अहिले थापाले नेतृत्व गरेको राप्रपा नेपालको चुनाव चिन्ह ‘साँढे गोरु’ हो। तीन वर्ष अघि आयोगमा १४९ नम्बरमा यो दल दर्ता हुँदा यो पार्टीको चुनाव चिन्ह साँढे गोरु कायम भएको छ। त्यो बेला यो पार्टी लाक्पा तामाङको अध्यक्षतामा दर्ता भएको थियो।
तामाङले गत शनिबार साँढे चुनाव चिन्ह रहेको पार्टीको नेतृत्व थापालाइ सुम्पेका थिए । आयोगका उपन्यायधीवक्ता गुरु वाग्लेका अनुसार दलको चुनाव चिन्ह परिवर्तन गर्नु परेमा आयोगको नियमावली अनुसार कागजी प्रक्रिया पुरा गर्नुपर्छ । ‘उक्त पार्टीको पुरानो चुनाव चिन्ह परिवर्तन गर्नुपरेमा कारणसहित खुलाएरु माग पेश गर्नुपर्छ,’ उनले तेस्रो आँखासंग भने ‘यो विषयमा केन्द्रीय समितिको बैठकले निर्णय गरेको कागजी प्रमाणसहित अन्य प्रक्रियाहरु पनि छन् ।’
तर साँढे गोरु चुनाव चिन्हधारी पार्टी राप्रपा नेपालले भने उसले मागे अनुसारको गाई चुनाव चिन्ह पाउने सम्भावनै छैन । आयोगले राष्ट्रिय पहिचान घोषित कुनै पनि प्राणी वा वस्तुलाई कुनै पनि राजनीतिक दलले चुनाव चिन्हका रुपमा प्रयोग गर्न नपाउने निर्णय गरेको छ। थापाले मागेको चुनाव चिन्ह गाई राष्ट्रिय जनावर भएकाले उक्त चुनाव चिन्ह राप्रपा नेपालले नपाउने आयोगको भनाइ छ।
‘राष्ट्रिय पहिचान घोषणा गरिएका कुनै पनि जनावर वा वस्तुलाई चुनाव चिन्ह बनाउन नपाउने भनेर आयोगले निर्णय नै गरेको छ,’ आयोगका उपन्यायधीवक्ता गुरु वाग्लेले भने ‘गाई राष्ट्रिय जनावर भएकाले आयोगको निर्णयले गाइलाई चुनाव चिन्ह प्रयोग गर्न दिदैन।’ यसैगरि दलहरुका मिल्दाजुल्दा चुनाव चिन्ह परिवर्तन गर्न समेत आयोगले सम्बन्धीत दलहरुलाई भनिसकेको छ। ‘फरक फरक दलहरुका मिल्दा जुल्दा देखिने निर्वाचन चिन्ह फेरबदल गर्न पनि आयोगले त्यस्ता दलहरुलाई भनिसकेको छ,’ वाग्लेले भने।
यता राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाले पनि आफ्नो झण्डामा गाईको लोगो प्रयोग गरिरहेको छ। आयोगले उक्त झण्डामा प्रयोग भएको गाईको लोगोका बारेमा पनि राप्रपालाई लिखित सोधेको छ । तर राप्रपाले भने गाईको लोगो झण्डामा प्रयोग गर्नु जायज भएको भन्दै यसले राष्ट्रिय जनावर प्रतिको पार्टीको उच्च सम्मान कायम गरेको बताएको छ। लिङ्देनले राप्रपा नेपालले गाई चुनाव चिन्ह नपाउने भन्दै आयोगले आफ्नो पार्टीको झण्डामा प्रयोग भएको गाईको लोगो हटाउन भनेको बताए। ‘राप्रपा नेपालले गाई चुनाव चिन्ह पाउने सम्भावनै रहन्न,किनकी राष्ट्रिय जनावर चुनाव चिन्ह राख्न नपाउने भनेर आयोगले निर्णय नै गरेको छ,’ राप्रपा अध्यक्ष लिङ्देनले भने ‘हामीलाई झण्डामा प्रयोग भएको गाईको लोगो समेत त हटाउन भनिरहेको छ।’
आयोगले राष्ट्रिय जनावरलाई चुनाव चिन्ह प्रयोग गर्न नपाउने भएपछि थापाको राप्रपा नेपालले चुनाव चिन्ह नपाउने निश्चित जस्तै छ। अतः उक्त पार्टीको अहिलेकै चुनाव चिन्ह साँढे गोरु कायम राख्ने कि गाई बाहेकका अन्य चुनाव चिन्ह माग गर्ने भन्ने विकल्प मात्रै उसका सामु छ।
