तुलसीपुर १२ भदौ/ दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ स्थित कमलपोखरी फेरि मर्मत गरिने भएको छ । तालमा फेरि पानी सुकेपछि पुनः मर्मत गर्न लागिएको हो । तालको दक्षिण तर्फको पर्खाल नजिकै प्वाल परेपछि त्यही बाट पानी बगेर गएको हो ।
पटकरपटक मर्मत गर्दापनि तालमा पानी नअडिएपछि अब के गर्ने भन्ने अन्यौल उत्पन्न भएको छ । कमलपोखरीलाई डिपिआर गरी आधुनिक पर्यटकीयस्थल बनाउने कार्यको थालनी यसअघिका तुलसीपुर उपमहानगरपालिका– ६ का वडाध्यक्ष नवराज लामिछानेको पालामा सुरू भएको थियो ।
अहिलेसम्म निर्माणका लागि २ करोड खर्च भएको उहाँले बताउनुभयो । उहाँले यति ठूलो लगानी गरिएको तालमा पानी पटक-पटक सुक्ने तथा नअडिने समस्या समाधानका लागि अब छिट्टै सामूहिक छलफल गर्न जरूरी रहेको बताउनुभयो । बर्खामै पोखरीमा पानी नअिडिए यो परियोजना सफल हुन्छ भनेर विश्वास गर्ने आधारहरू नहुने हुँदा अब स्थानीय र विज्ञहरू राखेर सामूहिक छलफल हुनुपर्ने उहाँले बताउनुभयो।
‘यति धेरै लगानी भइसकेको कमलपोखरीले सबैलाई गिज्याइरहेको साँचो हो र यो विगत पाँचरसात वर्षयता हेर्नका लागि मात्रै बनाएको जस्तै भएको छ,’ उहाँले भन्नुभयो ‘ हामीले तालको संरक्षण लगायत राम्रै उदेश्यले यसलाई आधुनिक बनाउने अभियान थालेका थियौं, तर कहाँ गल्ली भए भन्ने अब निर्मम समीक्षा हुनैपर्छ।’
६० वर्षीय पूर्ववडाध्यक्ष लम्सालका अनुसार उहाँ सानै छँदा ताल प्राकृतिक अवस्थामा थियो । ‘कमलका फूलहरू प्रसस्तै फूल्थे । नजिकै इनार थियो । रजौरा, डुम्री गाउँ, गोलौरा गाउँका मानिसहरूले त्यही इनारको पानी पिउनका लागि लैजान्थे । स्थानीयले नुहाउने, लुगाफाटा धुने स्थानपनि सोही पोखरी प्रयोग हुन्थ्यो। सुक्खा मौसममा वस्तु चौपाया प्यास बुझाउन यही कमलपोखरीमा आउँथे,उहाँले भन्नुभयो ।
२ करोड बढी खर्चिएर निर्मित तालमा पानी नै नडिएपछि अब के गर्ने भन्ने टाउको दुखाई भइरहेको कमलपोखरी सुधार कार्यका प्राविधिक इञ्जिनियर शरद अधिकारीले बताउनुभयो। अब प्रोजेक्ट नै मोडिफाइ गरी काम सुरू गर्ने बारे सल्लाह भइरहेको पनि उहाँले जानकारी दिनुभयो ।
‘तीन दिन भित्र उताबाट के गर्ने भन्ने बारे निर्णय हुने भन्ने हामीलाई जानकारी दिइएको छ,’ अधिकारीले भन्नुभयो ‘नयाँ कन्सल्ट्यान्ट हायर गरेर रिभाइभ नै गर्न लागेको भन्ने छ।’ पछिल्लो समय युएसएआइडीको तयार नेपालले कमलपोखरी सुधार तथा मर्मतको काम गर्दै आइरहेको छ।
तुलसीपुर उपमहानगरपालिका – ६ रजौरामा विभिन्न निकायले २ करोडभन्दा बढी खर्चेर निर्माण गरिएको कमलपोखरीमा जति प्रयास गर्दापनि पानी नअडिएपछि त्यसको आलोचना भइरहेको छ । सौन्दर्यकरण र आवश्यक परे विपदमा समेत पानीको प्रयोग गर्ने गरी पूर्व वडाध्यक्ष लम्सालको पालामा यो पोखरी निर्माण सुरू भएको थियो।
यसअघि पनि पोखरी छिर्ने सिँढी नजिकै, बीचमा निर्मित क्रँकिट कमलको फूलको आकृति र उत्तरतर्फको वाल निजकैबाट प्वाल परी त्यहाँबाट पानी बगेर गएको थियो। ती सबै दुलोहरूमा वरिपरि खनेर सिमेन्टको वाल बनाइएको थियो । त्यसपछि निर्माण सुरू भएको ५ वर्ष पछाडि तालमा पहिलो पटक यसै वर्षायाममा केही समय पानी भरिभराउ भएको थियो । तर, फेरि दक्षिण तर्फको वाल नजिकै दुलो परेपछि पानी त्यसैबाट बगेर गएको हो ।
पोखरीमा पानी भरिभराउन हुँदा त्यो अवलोकन गर्न आउने सर्वसाधारणको संख्या थपिँदै गएको थियो। टिकटक बनाउने, भिडियो वा रिल बनाउने तथा ती समाजिक सञ्जालमा राखेर तालको बखानहरू हुँदै आएका थिए । तर, फेरि पानी सुकेपनि मानिसहरू पोखरीमा आउन छाडेका छन् ।
यो पोखरीमा पानी अड्याउन भनेर गत असारमा मात्रै कमलपोखरी सुधार कार्य अन्तर्गत कुल लागत (भ्याट बाहेक) ५९ लाख ७८ हजार ५९२ रूपैयाँ खर्च गरिएको थियो । सुधारको काम गत फागुनदेखि सुरू भइ असार ३ गतेसम्म चलेको थियो । सेतोपाटी
