तुलसीपुर, १२ भदौ । तुलसीपुर उपमहानगरपालिकाका मेयर टीकाराम खड्काले अहिलेको अवस्थामा सबैले प्रविधिको सदुपयोग गर्नुपर्ने बताउनु भएको छ । प्रविधिको बढ्दो प्रयोग र विकासले नै अहिले देशमा भईरहेका घटना परिघटनाहरु अध्ययन गर्न पाएको बताउनु भयो ।
तुलसीपुर नगर जेसिजको आयोजनामा बुधबार तुलसीपुरमा भएको ‘सामाजिक सञ्जालको प्रयोगले युवामा पारेको प्रभाव’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मेयर खड्काले प्रविधिले मानव जीवन परिवर्तन सँगै, समाज परिवर्तन गर्ने र अध्ययनमा अनुसन्धान गर्न सहज बनाएको बताउनुभयो । साथै उहाँले पछिल्लो समय बालबालिकाहरु मोबाईलमै व्यस्त हुने भएकाले केही समस्या निम्त्याएको बताउनुभयो । ‘३/४ वर्षको बच्चाहरु विद्यालय जाने समय बाहेक अन्य समय मोबाइलमै वितेको छ । जसबाट शारीरिक समस्या आँखा नदेख्ने अर्थात् आँखाको ज्योति गुम्दै जाने समस्या वृद्धि हुँदै गएको छ ।’ उहाँले भन्नुभयो ।
तुलसीपुर नगर जेसिजका अध्यक्ष पूर्णबहादुर डाँगीको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथिसमेत रहनु भएका खड्काले सामाजिक सञ्जालको दुरुपयोग भएमा सामाजिक अपराधहरु बढ्न सक्ने बताउँदै अहिलेको पुस्ता सामाजिक अपराधतिर उन्मुख हो कि भन्नेतर्फ प्रश्न उठाउने गतिविधिहरु बढेको बताउनु भयो । ‘सामाजिक विकृतिले मानव जिवनलाई स्वस्थ, योग्य र दक्ष मानव, बनाउदैन ।’ उहाँले भन्नुभयो ‘हामीले ठीक समयमा ठिक कुरा बुझ्न सकेनौ वा समाजमा विकसितरुपमा अगाडी बढेको अपराधिक क्रियाकलापलाई हामीले रोकेनौ भने हाम्रो पुस्ता तरबार हुन्छ ।’
सामाजिक सञ्जालमा अरुको फोटो वा नकारात्मक कुरालाई प्रयोग गर्ने, फेक अकाउन्टबाट अनेक खालका उच्छृङ्खल क्रियाकलापहरु गर्नाले सामाजिक अपराधहरु जन्माइराखेको उहाँले बताउनु भयो । सामाजिक सञ्जालमा एकछिनको रमाइलो, मजाकले हामी जीवन नै बर्वाद गर्नतर्फ लागिरहेका छौं त्यसैले यसलाई न्युनिकरण गर्नका लागि खाली समयमा साथीहरुसँग छलफल, समाजमा बढ्दो अपराधलाई न्युनिकरण गर्नका निम्ती, समाजलाई रुपान्तरण गर्नका निम्ति अन्तरक्रियालाई व्यपाक गराउनु पर्नेमा जोड दिनुभयो । बालवालिकाहरुको हातमा मोबाइल दिनु नपर्ने र माथिल्लो पुस्ताले पनि अध्ययन, अनुसन्धान, शैक्षिक सामग्रीको रुपमा मोबाइललाई सदुपयोग गर्नुपर्ने उहाँले बताउनु भयो ।
प्रविधिको दुरुपयोगबाट युवापुस्ता जोगिन सकेन भने यो पुस्तालाई बर्वादीबाट कसैले पनि रोक्न नसक्ने बताउनु भयो । अभिभावक, शिक्षक, विद्यार्थीहरुले सामाजिक सञ्जालमा गर्नु पर्ने के हो भन्ने दायित्वबाट अगाडि बढेपछि मात्र आजको पुस्तालाई सामाजिक सञ्जालको प्रभावबाट हुने नकारात्मक जोगाउन सकिने बताउनु भयो ।
तुलसीपुर नगर जेसिजका उपाध्यक्ष तथा कार्यक्रम संयोजक मधुसुदन गौतमको स्वागत मन्तव्यबाट सुरु भएको अन्तरक्रिया कार्यक्रममा जेसिज पूर्व अध्यक्ष मेघराज घिमिरे, वक्ताको रुपमा रहनु भएका तुलसीपुर नगर जेसिजका पूर्व अध्यक्ष झरेन्द्र खरेल, इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख ठाकुर प्रसाद पोख्रेल, अधिवक्त डिल्लीराज धिताललगायतले बोल्नु भएको थियो । उहाँहरुले प्रविधिलाई ज्ञान आर्जन गर्ने, अध्ययन, खोज अनुसन्धान गर्ने र आवश्यक काममा सदुपयोग गर्न सकियो भने सामाजिक अपराधिक क्रियाकलापबाट बच्न सकिने बताउनु भएको थियो ।
अन्तरक्रिया कार्यक्रममा विद्यार्थीहरुको जिज्ञासाको जवाफ इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख ठाकुर प्रसाद पोख्रेलले दिनुभएको थियो । उक्त कार्यक्रमको सहजीकरण तुलसीपुर नगर जेसिजका महासचिव कमलप्रसाद शर्माले गर्नुभएको थियो । अन्तरक्रिया कार्यक्रममा गोरखा स्कुल, ग्रेट अरनिको, ज्ञानज्योति र हिमाल एकाडेमीका शिक्षक तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
