• ट्रेण्डिङ्ग :
ग्वारखोलाका माछा संरक्षणमा स्थानीय जुटे

ग्वारखोलाका माछा संरक्षणमा स्थानीय जुटे


  • 3.4K
    SHARES
    • भाद्र १३, २०८१ बिहीबार
    • २ बर्षs अघि
    • 5.2K Views

    ग्वारखोलाका माछा संरक्षणमा स्थानीय जुटे

    दाङ, १३ भदौ । दाङको तुलसीपुर उपमहानगरपालिकामा पर्ने ग्वारखोलामा माछा संरक्षण अभियान थालिएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं ४ र १९ क्षेत्रमा पर्ने दुवै वडावासीको संयुक्त प्रयासमा माछा संरक्षण गर्न अभियान थालिएको हो । 

    images

    तुलसीपुर–४ निवासी जितबहादुर थापाको नेतृत्वमा समिति निर्माण गरी माछा संरक्षण थालिएको हो । बर्षातको समयमा ढरिया हालेर माछा मार्दा साना माछाका भुराहरू हराउने भन्दै त्यसो नगर्न अभियान थालिएको अध्यक्ष थापाले बताउनुभयो । “बर्सातको समयमा माछाहरू माथितिर आउने गर्छन्, माथितिर आइरहेका साना माछाका भुराहरूलाई ढरिया हालेर मार्दा सबै माछा सकिने अवस्था आउछ । त्यसैले हामीले यो अभियान थालेका हौँ”, उहाँले भन्नुभयो ।  

    यस्तै, हिउँदतिर विषादी हाल्ने, करेन्ट लगाएर माछा मार्ने गरिएकामा यस्ता कार्यलाई पनि नियन्त्रण गरिने योजना रहेको अध्यक्ष थापाले सुनाउनुभयो । “पछिल्लो समय माछा लोप हुने अवस्थामा छन् । यसले गर्दा माछा मारेर जीविकोपार्जन गर्ने बादी समुदायको पेसा पनि सङ्कटमा छ । त्यसलाई पनि मध्यनजर गरी संरक्षण र व्यवस्थापनका काम सँगसँगै अगाडि बढाउने सोच छ”, उहाँले भन्नुभयो । अभियानमा सहयोग नगर्ने, करेन्ट लगाउने तथा विषादी हालेर माछा मार्न थालेमा पहिलो पटकमा रु १० हजार र त्यसपछि पुनःकरेन्ट लगाएमा थप रु १० हजारका दरले जरिवाना लगाउने गरी तयारी गरिएको जनाइएको छ । त्यस्तै ढरिया हालेर माछा मारेमा रु पाँच हजारका दरले जरिवाना लगाउने निर्णय गरिएको पनि अध्यक्ष थापाले जानकारी दिनुभयो ।

    ग्वारखोलामा उत्तरमा रोल्पा र सल्यानको सिमानादेखि दक्षिणमा घोराही–तुलसीपुर सडक पुलबीच क्षेत्रमा माछा संरक्षण अभियान चलाइउको छ ।  तुलसीपुर–४ को बायोखोला, दद्रेनी तथा तुलसीपुर १९ का कुटीचौर, श्रीचौरका बासिन्दाहरु मिलेर यो अभियान थालिएको तुलसीपुर–४ का वडाध्यक्ष तुलसी थापाले बताउनुभयो । 

    यसरी माछा संरक्षणमा लाग्नु अहिलेको आवश्यकता भएको र यस अभियानमा स्थानीय सरकारको पनि साथ रहेको उहाँको भनाइ छ । “विगतमा यस क्षेत्रमा विभिन्न जातका माछा पाइन्थे, अचेल त्यो अवस्था छैन । भुरा हुँदै मार्ने र बाँचिहालेमा ठूला भएपछि करेन्ट लगाएर, विष हालेर मार्ने समस्या थियो । यो अभियान सञ्चालनपछि त्यो समाधान हुने अपेक्षा छ”, उहाँले भन्नुभयो । 


    तेस्रो आँखा