तुलसीपुर, १८ भदौ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष दुजमान भण्डारी र सदस्य यमराज केसीलाई ज्यान मार्ने धम्की आएको छ । सडक निर्माणको क्रममा भएको सामान्य विवादलाई लिएर ज्यान मार्ने धम्की आइरहेको वडाध्यक्ष दुजमान भण्डारी (वर्षात)ले जानकारी दिनुभयो ।
तुलसीपुर–६ स्थित तरकारी मण्डीदेखि गाइडहर हुँदै बनकट्टा जोड्ने सडक निर्माणको क्रममा भएको सामान्य विवादमा तुलसीपुर–६ निवासी इलिजा (डाँगी) वली र उनका श्रीमान जागेश्वर डाँगीले गुण्डा प्रयोग गरेर ज्यान मार्ने धम्की दिएको वडाध्यक्ष भण्डारीले जानकारी दिनुभयो ।
उक्त सडक लुम्बिनी प्रदेश सरकारको करिब २ करोड लागतमा ८ मिटर चौडाइ र १ किलोमिटर लिम्बाइ रहेको सडक अस्फाल्ट प्रविधिबाट पिच गर्न लागिएको छ । उक्त सडक तोकिएको मापदण्डअनुसार चौडाह गर्दा सडकमा पर्ने भौतिक संरचना अन्तर्गत घरको पर्खाल जाने भएकाले इलिजा र निजका श्रीमान जागेश्वरलाई गत साउन २३ गते जानकारी गराइएको थियो । उक्त समयमा डाँगी दम्पत्तिले दुई दिनभित्र घरको पर्खाल हटाउने बताउनु भएको थियो । तर नक्साअनुसार पर्खाल नहटाएपछि गत साउन २९ गते करिब ३ सय उपभोक्तासहित जनप्रतिनिधि डोजर लिएर सडक निर्माण निर्माण गर्न जाँदा इलिजाको पर्खाल भत्काउने क्रममा सामान्य विवाद र धक्कल पक्कल भएको वडाले भण्डारीले बताउनु भयो ।

सोही दिन इलिजाले उच्च अदालत तुलसीपुरबाट स्टेअडर ल्याएको वडाध्यक्षले बताउनु भयो । स्टेअडर ल्याएपछि उक्त ठाउँमा काम रोकिएको छ भने अन्य ठाउँमा काम जारी रहेको छ । काम रोकिएको भोलिपल्ट अर्थात साउन ३० गतेदेखि भारतीय +९१९०२८०१९९८१ लगायतका विभिन्न नम्बरबाट वडाध्यक्ष दुजमान भण्डारी वडा सदस्य यमराज केसीलाई ज्यान मार्ने धम्की आउन थालेको हो । फरक फरक नम्बरबाट छाडारुपमा गालीगलौज गर्दै ‘इलिजाको पर्खाल किन भत्काइस्, हातपात गरिस्, अध्यक्ष र तलाई केही दिन सुट गर्छु’ भन्दै धम्की आएको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।
बारम्बार ज्यान मार्ने धम्की आउन थालेपछि भदौ २ गते इलाका प्रहरी कार्यालय तुलसीपुरमा ज्यानको सुरक्षाका लागि निवेदन दिएको वडाध्यक्ष भण्डारीले जानकारी दिनुभयो । निवेदन पश्चात डिएसपी ठाकुरप्रसाद पोख्रेलले घटनाको मुख्य योजनाकारलाई पक्राउ गरेर अनुसन्धान गर्ने बताउनु भएको थियो । तर अहिलेसम्म प्रहरीले घटनाको योजनाकार नभेटिएको भन्दै टार्न खोजिएको उहाँले आरोप लगाउनु भयो ।
तुलसीपुर प्रहरीले दोषीलाई पक्राउ नगरेपछि भदौ ७ गते जिल्ला प्रहरी कार्यालय दाङमा निवेदन दिएको थियो । जिप्रका प्रमुख रामबहादुर केसीले इलाका प्रहरी कार्यालयका डिएसपी पोख्रेललाई तत्काल घटनाको विषयमा अनुसन्धान गर्न बताए पनि उक्त घटनामा जोडिएको व्यक्तिलाई अहिलेसम्म पक्राउ गर्न नसकेको अध्यक्ष भण्डारीले बताउनु भयो ।
‘संगठित अपराधको रुपमा रहेको एउटा गिरोहका विषयमा यसको अडियो, भिडियो, र म्यासेजसहित सप्रमाण प्रहरीमा उजुरी दिंदा सामान्य सोधपुछ समेत नगर्नुले प्रहरीले अपराध कार्ममा लागेकाहरुको संरक्षण र प्रोत्साहित गर्दै छ भन्ने कुरा यस घटनाले पुष्टि गरेको छ । प्रहरीले आज प्रमाण दिंदा समेत ती व्यक्ति किन पक्राउ गर्दैन । प्रहरी कसैको दवावमा छ कि आर्थिक प्रभाव छ ? जनप्रतिनिधिको यो अवस्था छ भने अन्याय अत्याचारमा परेका जनताले के सहजै न्याय पाएका होलान् ? आज प्रहरीप्रति गम्भिर आशंका पैदा भएको छ ।’ जारी विज्ञप्तीमा उल्लेख छ ।
