वडामा भएका गतिविधिहरु सर्वसाधारणमा जानकारी गराउने उद्देश्यले तेस्रो आँखा डट कमले विभिन्न पालिकाहरुका वडा अध्यक्षहरुसँग पाँचवटा प्रश्नहरु सोध्ने अभियान चलाएको छ । सो अभियान अन्तर्गत आज हामीले राप्ती गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष पहलवान चौधरीसँग पाँचवटा प्रश्नहरु सोधेका छौं । प्रस्तुत छ, वडाध्यक्ष चौधरीसँग तेस्रो आँखाकी सहसम्पादक अञ्जना चौधरीले गरेको कुराकानीको सम्पादित अंंश ।
१- जनतालाई चुनावको समयमा गरेका बाचाहरु मध्ये कति काम सम्पन्न भयो र कति काम हुन बाँकी छ ?
हामीले निर्वाचनको समयमा जनताहरुसँग गरेका बाचाअनुसार नै अहिले काम गरिरहेका छौं । खासगरी चुनावको समयमा हामीले स्वास्थ्य सेवामा नागरिकको पहुँच, गुणस्तरिय शिक्षा, युवालाई उत्पादनमा र स्वरोजगारसँग जोड्ने, भूमिहिन, सुकुम्बासी, अव्यवस्थित बसोबासलाई व्यवस्थित गर्ने, सफा वडा र सुन्दर वडा बनाउने, विभिन्न पुर्वाधारको क्षेत्रमा काम गर्ने, जस्तै बाटोघाटो, पर्यटन, पुलपुलेसा निर्माण गर्ने बाचा गरेका थियौं । यी मध्ये हामी निर्वाचित भएर आएसँगै शिक्षा र स्वास्थ्यमा तुलनात्मक रुपमा धेरै सुधार भएको छ । युवाहरुलाई स्वरोजगार बनाउन विभिन्न तालिमहरु तथा प्रविधिहरु हस्तान्तरण गरेका छौं ।
भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुको लगत लिने, निस्सा वितरण गर्ने र नापजाँच गर्ने काम सम्पन्न भएको छ भने पुर्जा वितरण प्रक्रिया अगाडि बढाएका छौं । पूर्वाधार तर्फ केही योजनाहरु सम्पन्न भएका छन् भने केही प्रक्रियामा छन् र केही काम हुँन बाँकी नै छन् । सफा र सुन्दर वडा निर्माण गर्न तथा फोहरबाट मोहर बनाउने उदेश्यले सरसफाई केन्द्र स्थापना भैसकेको अवस्था छ ।
२- वडाको समग्र गतिविधिहरु सञ्चालन गर्दा जनताबाट निर्वाचित भएर आएका वडा सदस्यहरुलाई सहभागी गराइदैन भन्ने गुनासो सुनिन्छ । तपाईको वडामा त्यस्तो छ, कि छैन् ?
हामी वडा समितिले आआफ्नो कार्यविभाजन गरेर वडाबाट हुने कामहरु गर्दै आएका छौं । वडाबाट सञ्चालन हुने काममा सामुहिक रुपमा निर्णय गरि कार्यान्वयन पनि सामुहिकतामा हुने भएकाले हाम्रो वडाको हरेक गतिविधि सञ्चालन गर्दा वडा सदस्यहरुलाईको सहभागिता र उहाँहरुको सहमतिमा हुँदै आएको छ । त्यसैले हाम्रो वडामा यस्तो खालको गुनासोहरु छैन् ।
३- वडाको समग्र समृद्धिकालागि तपाईका भावी योजनाहरु के छन् ?
सहि राजश्व संकलन र सहि सदुपयोग गर्ने हाम्रो मुख्य योजना हो । त्यसैगरी स्वास्थ्य एवं शिक्षामा गुणस्तरता प्रदान गर्ने र बढ्दो बेरोजगारीका कारण वा विभिन्न बहानामा युवाहरु विदेशिने क्रम पनि बढ्दो रहेकाले युवाहरुलाई उत्पादन र स्वरोजगार सँग जोड्न सकियो भने वडालाई समृद्ध बनाउन सकिन्छ भन्ने हाम्रो योजना छ । त्यहीअनुसार हामीले काम गर्दै आएका छौं ।
४- जनताको प्रतिनिधि र वडाध्यक्षको हैसियतले वडावासीहरुको जनगुनासोहरु कत्तिको सुन्नुहुन्छ ?
जनताको सेवाकोलागि जनताबाटै जननिर्वाचित जनप्रतिनिधि भएको कारण जनताबाट हामी समक्ष गुनासो आउँनु स्वभाविक हो । जनताबाट आउँने जनगुनासो सुन्नु हाम्रो जिम्मेवारी पनि हो भन्ने मलाई लाग्छ । हामी जनप्रतिनिधिकालागि जनगुनासो ऐना पनि हो । जसले हाम्रा कमी कमजोरी प्रस्ट्याउँछ । त्यसैले जनगुनासोलाई मैले प्रेरणा र उत्साहको रुपमा लिने गरेको छु । र त्यहीअनुसार जनताहरुको गुनासो सम्बोधन हुने गरि काम अगाडी बढाएको छु ।
५- सन २०३० सम्ममा दिगो विकासका लक्ष्यहरु प्राप्त गरि सकनुपर्ने समय सीमा छ । त्यसको निम्ति तपाईहरुको तयारी कस्तो छ ?
सन २०३० सम्ममा प्राप्त गरिसक्नु पर्ने दिगो विकासका १७ वटा लक्ष्यहरु छन् । त्यसको निम्ति हामीले पनि स्वास्थ्य, शिक्षा, रोजगार, कृषि, पर्यटन, खानेपानी तथा सरसफाई, वनवातावरण, उद्योग र उत्पादनलाई जोड दिँदै पुर्वाधार विकासको परियोजना बनाउँदै नियमित रुपमा कार्य गर्दै आएका छौं ।
