काठमाडौं, १२ फागुन। सत्तारुढ दल नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले एमसीसीको विपक्षमा मतदान गर्ने तर सरकारबाट नबाहिरिने प्रस्ताव गरेका छन्।
बिहीबार बालुवाटारमा भएको छलफलमा प्रचण्डले माओवादी केन्द्रले एमसीसीको विपक्षमा मतदान गरेपनि सरकारबाट नबाहिरिने प्रस्ताव गरेका हुन्।
तर प्रधानमन्त्री शेरबहादुर देउवाले प्रचण्डकाे यसप्रकारकाे प्रस्तावलाई अस्वीकार गरेका छन्। प्रधानमन्त्री देउवाले सरकारमा रहेर सरकारकै प्रस्तावको विपक्षमा मतदान गर्न नमिल्ने भन्दै उनले एमसीसीको पक्षमा मतदान गर्न आग्रह गरे।
एमसीसीको पक्षमा माओवादी केन्द्रले मतदान गर्न नसक्ने प्रचण्डको जिकीरपछि प्रधानमन्त्री देउवाले आफ्नो पार्टीका मन्त्रीलाई राजीनामा दिन लगाउन प्रचण्डलाई भनेकाे बताइएकाे छ।
एमसीसीको विपक्षमा मतदान गरेर सरकारमा बसे माओवादी केन्द्रबाट मन्त्री भएका सबैलाई वर्खास्त गर्ने प्रधानमन्त्री देउवाले चेतावनी समेत दिएकाे स्राेतले बतायाे।
प्रचण्डले बुधबार नै गृहमन्त्री खाँणमार्फत प्रधानमन्त्री देउवालाई एमसीसीको विपक्षमा मतदान गर्ने र सरकारबाट नबाहिरिने प्रस्ताव गरेकाे सन्देश पठाएका थिए।
