बाँके, २ असोज । बाँकेको राप्तीसोनारीको लालपुरमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । आज बेलुका साढे ४ बजेको समयमा राप्तीसोनारी गाउँपालिका वडा ७ स्थित हुलाकी सडकखण्डमा दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय धामपुरले जनाएको छ ।
प्रहरीका अनुसार भे १२ प ३९९५ र भे १२ प ४८२८ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा गम्भीर घाइते भएका दुबै मोटरसाइकल चालकको उपचारका क्रममा नेपालगञ्ज मेडिकल कलेजमा मृत्यु भएको हो । राप्तीसोनारी ४ घर भएका भे १२ प ३९९५ का ३५ वर्षीय चालक रामशरण थारुको आज साँझ पौने ६ मृत्यु भएको हो भने सोही गाउँपालिकाको वडा नम्बर ३ खैरेनीका भे १२ प ४८२८ नम्बरका चालक १८ वर्षीय बसन्त थारुको सवा ६ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यसैगरी भे १२ प ३९९५ नम्बरको मोटरसाइकलको पछाडि सवार बर्दिया राजापुर ४ घर भई हाल राप्तीसिनारी ४ धामपुर बस्ने ३१ वर्षीय अजय दहित घाइते भएका छन् । उनको नेपालगञ्ज मेडिकल कलेज नेपालगञ्जमा उपचार भइरहेको छ । प्रहरीका अनुसार उनको अवस्था गम्भीर रहेको छ भने भे १२ प ४८२८ नम्बरको मोटरसाइकलमा सवार राप्तीसोनारी ३ खैरेनीका १६ वर्षीय संगीत थारु र वडा नम्बर ३ खैरेनीकै २१ वर्षीय संजय थारु घाइते भएका छन् ।
उनीहरुको पनि नेपालगञ्ज मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।
