तुलसीपुर, ९ असोज । दाङको घोराहीमा चट्याङ लागेर तीन वर्षीय बालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
घोराही उपमहानगरपालिका वडा नम्बर ११ खुङकोट निवासी निमकली साहूको एकतले चारकोठे कच्ची घरमा मंगलबार दिउँसो साढे ३ बजेको समयमा चट्याङ लागेको थियो । चट्याङ लागेर ४२ वर्षीया निमकली साहू, उनको ६ वर्षीया छोरी सविना साहू र तीन वर्षीय छोरा समिर साहू घाइते भएका थिए ।
निमकली र सविनाको अवस्था मध्यम रहेको छ । चट्याङ लागेर घाइते भएका समिरको अवस्था गम्भिर रहेको थियो । समिरलाई बुधबार विहान सवा ८ बजेको समयमा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको लागि ल्याइएको थियो । उनलाई साढे ८ बजेको समयमा डाक्टरले चेकजाँच गरी मृत घोषणा गरेका हुन् । बालकको शव राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो ।
