दाङ, २२ असोज । दाङ प्रहरीले ५० किलो बढी लागु औषध (अफिम र चरेस) सहित तीन जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय दाङले मंगलबार पत्रकार सम्मेलन गरेर ५० किलो १५२ ग्राम लागु औषधसहित तीन जनालाई पकाउ गरेको जानकारी दिएको छ ।
मंगलबार दिउँसो लागु औषध कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा गएको टोलीले घोराही वडा १८ मसिनाबाट सुविन्द्र पुन र चेतन बुढालाई नियन्त्रणमा लिएर खानतलासी गर्दा अफिम बरामद गरेको थियो ।
सोधपुछको क्रममा अफिम रुकुम पुर्वका बिनी पुनबाट खरिद गरेको खुल्न आएपछि प्रहरीले बिनी पुनको डेरामा छापा मारी थप चरेश र अफिम बरामद गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख अर्जुन तिमिल्सिनाले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।
पक्राउ पर्नेमा ३७ वर्षीय सुविन्द्र पुन, ५१ वर्षीय चेतन बुढा, र ४२ वर्षीय बिनी पुन रहेका छन्। प्रहरीले उनीहरूको साथबाट ३८ किलो ९७२ ग्राम चरेश र ११ किलो १८० ग्राम अफिमसहित विभिन्न उपकरणहरू बरामद गरेको छ। पक्राउ परेकाहरूलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
