काठमाडौं, १६ फागुन। नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले अमेरिकी सहयोग परियोजना एमसीसीको व्याख्यात्मक घोषणालाई लिएर नेपाल र अमेरिकाबीच समान धारणा राखेको बताएका छन्।
पार्टी कार्यालय सानेपामा सोमबार आयोजित पत्रकार सम्मेलनमा एमसीसीबारे पार्टीको धारणा सार्वजनिक गर्दै डा.महतले एमसीसीबारे नेपाल र अमेरिकाको बुझाइ समान रहेको बताएका हुन्।
त्यस्तै, एमसीसीबारे नियोजित ढंगले भ्रम छरिएको बताउदै एमसीसी कुनै देशविरुद्ध प्रयोग हुँदैन उनकाे भनाइ छ। केही नेताहरूले दाेहाेराे चरित्र देखाएकाे आराेप उनले लगाए ।
उनले भने 'यो विशुद्ध आर्थिक सहायता हो। यति ठूलो आर्थिक सहायता अहिलेसम्म नेपालले पाएको थिएन। जुन भ्रम थियो त्यो अब दूर भएको छ। अब यसलाई नेपालको आर्थिक विकासमा लगाउनुपर्छ।'
विदेशी सहयोगलाई लिएर नेपाली कांग्रेसको फरक फरक धारणा नहुने भन्दै एउटै मापदण्ड र धारणा रहेको उनकाे भनाइ छ । उनले एमसीसी सैन्य परियोजना भएको भन्दै गरिएको भ्रम सरासर झुटो भएको उनले दाबी गरे ।
महतले एमसीसी अनुमोदन गराउन भूमिका खेल्ने सबै वर्ग र क्षेत्रका मानिसलाई धन्यवाद पनि दिएका छन् ।
