काठमाडौँ, ११ कात्तिक । पूर्वप्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा बाबुराम भट्टराईले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहबारे सन्देहपूर्ण धारणा राख्नुभएको छ । बालेनले आगामी २०८४ सालको निर्वाचन अगाडि पार्टी खोल्न सक्ने टीकाटिप्पणी हुने गरे पनि बालेनको लोकप्रियताका बिच आफूले उहाको वास्तविकता बुझ्न नसकेको भट्टराईको धारणा छ ।
‘बालेन के हुन् भन्ने मैले बुझेको छैन । एकखालको रहस्यमय पात्र जस्तो देखिन्छ’, शनिबार राजधानीमा आयोजित प्रमुख सञ्चारमाध्यमका सम्पादकका साथै पत्रकारहरूसँगको छलफलमा भट्टराईले भन्नुभयो, ‘उनी हेर्दा पलपुर पनि देखिन्छन् । ट्रकहरूमा पनि बालेनको फोटो देखिन्छ । सामाजिक सञ्जाल हेर्दा पनि लोकप्रियता देखिन्छ । तर, उहाको वास्तविकता स्पष्ट नभएको यस्तो पृष्ठभूमिमा हाम्रो जस्तो जटिल भूराजनीतिक संरचनामा बढो खतरनाक हुन सक्छन् ।’
यद्यपि देशका लागि अग्रगामी सोचसहितको वैकल्पिक शक्तिचाहिँ चाहिने उहाको भनाइ छ । अग्रगामी सोच राख्ने शक्तिहरूसँग विगतदेखि नै आफू सकारात्मक रहेको उल्लेख गर्दै भट्टराईले आफ्नो चाहना अबको चुनावमा त्यस्ता शक्तिहरूसँग तालमेल वा मोर्चाबन्दी गर्ने रहेको बताउनुभएको छ ।
जनयुद्ध र जनआन्दोलनमार्फत प्राप्त कतिपय उपलब्धि अझै पनि संस्थागत हुन नसकेको उल्लेख गर्दै भट्टराईले त्यसलाई जोगाउनका लागि पनि आफ्नो चाहना अग्रगामी शक्तिहरूसँग मिलौँ भन्ने रहेको उहाको भनाइ छ । यद्यपि आगामी निर्वाचनमा जस्तोसुकै वैकल्पिक शक्ति निर्माण भए पनि एउटैको चाहिँ बहुमत आउन सक्ने आफूलाई नलागेको उहाको भनाइ थियो । ‘तर, एलाइन्स वा गठबन्धन बनाएर हुन्छ कि भन्ने मेरो सोच त्यस्तो छ’, उहाले भन्नुभयो, ‘एजेन्डा सेट गरेर वैकल्पिक राजनीति स्थापित गर्ने र त्यसका वरिपरि गठबन्धन गर्न सकिन्छ कि भन्ने हो ।’
एमाले र कांग्रेसको शक्ति घट्ने विश्लेषण
भट्टराईले ०८४ पछि एमाले र कांग्रेसको निर्णायक बन्ने हैसियत घट्ने पनि विश्लेषण गर्नुभयो । उनीहरूलाई चुनौती वैकल्पिक शक्तिले नै दिने उहाको जिकिर थियो । तर, वैकल्पिक शक्ति अहिले नै यो हुनसक्छ भनेर भन्न सक्ने अवस्था नरहेको उल्लेख गर्दै भट्टराईले भन्नुभयो ‘यो स्पेस अहिले खाली नै छ । ‘अन्नोन’ कुनै पात्र आउन पनि सक्छ ।’
भट्टराईले माओवादी छाडेर आफूले वैकल्पिक शक्ति बनाउँदा आफ्नै टिमका साथीहरूले धैर्य गर्न नसक्दा त्यति बेला सफलता हासिल हुन नसकेको पनि स्मरण गराउनुभयो । यसबाहेक तत्कालीन सरकारकै असहयोगमा चुनाव चिह्न नपाएको देखि अनेक समस्याको सामना गर्नुपरेको उहाले स्मरण गर्नुभयो । ‘प्रचण्डले पनि सहयोग गरेनन्, उहाको सरकारले चुनाव चिह्न दिएन । यस्तै चुनावको मुखमा साथीहरूको भागाभाग हुन भयो’, उहाले भन्नुभयो । विगतका कमजोरीबाट पाठ सिक्दै अब फेरि पार्टीलाई रि(ब्राण्डिङ गरेर वैकल्पिक राजनीतिकका लागि पैरवी गर्न लागिपरेको उहाको भनाइ थियो । तर वैकल्पिक शक्ति बन्ने भन्दैमा राजावादी भने कुनै हालतमा नहुने उहाले स्पष्ट पार्नुभयो ।
‘राजावादी त पटक्कै हुँदै नहुने । गणतन्त्रभित्रै रहेर वैकल्पिक शक्ति बनाउन प्रयास गर्नुपर्छ’, उहाले भन्नुभयो । यस्तै भट्टराईले वैकल्पिक शक्तिको अगाडि कांग्रेस, एमाले र माओवादी सोलोडोलो विशाल रहन नसक्ने दाबी गर्दै एउटा लिबरल धार र अर्के कम्युनिस्टहरूको धार भने रहिरहने तर्क गर्नुभयो । यस्तै आफूले सबैलाई समेट्न प्रगतिशील प्रजातान्त्रिक विचारधारा वरिपरिको शक्ति चाहेको बताउनुभएको छ ।
प्रचण्ड धेरै पर पुगिसके
उहाले आगामी दिनमा माओवादीसँग एकता हुन कठिन रहेको समेत बताउनुभयो । ‘प्रचण्ड धेरै पर पुगिसक्नु भयो’, उहाको भनाइ थियो, ‘मुद्दामा मिलेर जान सकिएला ।’
यस्तै भट्टराईले भ्रष्टाचार अहिलेको प्रमुख चुनौती रहेको उल्लेख गर्दै यसको नियन्त्रणका लागि लोकपाल वा बलियो अरू कुनै आयोग निर्माण गर्नुपर्ने बताउनुभयो । तर, त्यस्ता आयोगमा भ्रष्ट प्रवृत्तिकै मान्छे आएमा समस्याको समाधान नहुने उहाको भनाइ थियो ।
यस्तै भट्टराईले अहिलेको प्रणालीबाट कसैको पनि बहुमत आउन नसक्ने उल्लेख गर्दै प्रत्यक्ष कार्यकारीको पक्षमा समेत वकालत गर्नुभयो ।
भट्टराईले पूर्वराजा ज्ञानेन्द्रको गतिविधिसमेत शङ्कास्पद देखिएको उल्लेख गर्नुभयो । उहाको भुटान भ्रमणसमेत शङ्कास्पद रहेको उहाको भनाइ थियो । यस्तै अहिलेका दलकै कतिपय नेताहरू समेत परिचालित पात्र रहेको भन्दै कटाक्ष गर्नुभयो ।
