काठमाडौँ, ११ कात्तिक । गृहमन्त्री रमेश लेखकले लोकतन्त्रलाई अनुशासनको पद्धतिका रुपमा बुझ्न आग्रह गर्नुभएको छ ।
आइतबार काठमाडौंमा गैर आवासीय नेपाली संघको कार्यक्रमलाई सम्बोधन गर्दै उहाले लोकतन्त्रलाई अनुशासनको पद्धतिका रुपमा बुझ्न आग्रह गर्नुभएको छ। उहाले डेमोक्रेसीको ‘डि’सँगै अरु दुई वटा ‘डि’ को आवश्यक हुने बताउनुभयो ।
लोकतन्त्रलाई चिरस्थायी बनाउन डिसिप्लेन र डिस्ट्रिब्युशनको ‘डि’ को आवश्यकता रहेको लेखकले बताउनुभयो । उहाले लोकतन्त्रलाई अराजकताको प्रणालीका रुपमा बुझ्दा लोकतन्त्र कमजोर हुने बताउनुभयो । लेखकले नागरिकका बीचमा सम्भावना र अवसरको वितरण गर्न आवश्यक रहेकाले वर्तमान सरकार सोही उद्देश्यलाई पूरा गर्न लागिपरेको बताउनुभयो ।
नागरिकको बीचमा संविधानले वितरण गर्नुपर्ने राजनीतिक, आर्थिक, सामाजिक अधिकारको वितरणका साथै शिक्षा, स्वास्थ्य लगायतका अवसरहरूमा सरल, सुलभ पहुँचका व्यवस्थाहरूको वितरण आवश्यक रहेको बताउनु भएको छ । वर्तमान सरकार कसैका लागि मन्त्री बन्न र सरकार बनाउनकै लागि बनेको सरकार नभएको उहाँले भन्नुभयो । उहाँले जनतामा भएको निराशा, चिन्ता चिर्न र आशामा बदल्नका लागि वर्तमान सरकार बनेको बताउनुभयो ।
गृहमन्त्री लेखकले लोकतन्त्रलाई चिरस्थायी राजनीतिक पद्धतिका रुपमा अघि बढाउने उद्देश्यका साथ सरकार बनेको बताउनु भएको छ । उहााले आर्थिक उन्नति र विकास गर्न एनआरएनएहरुमा भएको सम्भावना देशभित्र उपयोग हुनुपर्ने बताउनुभयो ।
