काठमाडौँ, १२ कात्तिक । खानेपानीमन्त्री प्रदीप यादवले आफ्नो कार्यकालभित्रै काठमाडौं उपत्यकामा पानीको समस्या समाधान गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।
आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो । उहाँले काठमाडौं उपत्यकामा अहिले ५१ करोड लिटर पानीको माग रहेको र भविष्यलाई पनि मध्यनजर गरी पानीको समस्या समाधान गर्न आफू लागिपरेको बतानुभयो । उहाँले मन्त्रालयले दीर्घकालीन समाधानका लागि पनि आफ्ना योजनाहरू बनाइरहेको बताउनुभयो ।
मन्त्री यादवले तत्काल २५ करोड ५० लाख लिटर क्षमता भएको प्लान्ट सुन्दरीजलमा टेण्डरका लागि प्रक्रिया अघि बढाइएको बतानु भएको छ । शिवपुरी राष्ट्रिय निकुञ्जका सानातिना मुहानमा केही रकम खर्च गरेर पानी काठमाडौं पथान्तरण गर्ने व्यवस्थामा पनि मन्त्रालय लागेको उल्लेख गर्नुभयो । मन्त्री यादवले काठमाडौंवासीलाई १२ महिना नै पानी खुवाउने गरी मन्त्रालयले काम गरिरहेको दाबी गर्नुभएको छ ।
उहाँले प्राविधिक समस्याका कारण मन्त्रालयलाई पनि केही समस्या परेकाले नीति, नियमहरू संशोधन गरी अघि बढिरहेको बताउनुभयो । मन्त्री यादवले सिस्नेरीबाट पानी निकट भविष्यमै काठमाडौं ल्याउने तयारी गरिएको बताउनु भएको छ ।
उहाँले अहिलेको सरकार मजबुत सरकार भएकाले यो सरकारको आयु लामो भएको बताउनु भएको छ ।
