काठमाडौँ, १२ कात्तिक । सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले सहकारी ठगीमा संलग्न काँग्रेसका धनराज गुरुङ र एमालेका ऋषिकेश पोखरेललाई पनि तत्काल अनुसन्धानको दायरामा ल्याउन सरकारसँग आग्रह गर्नुभएको छ ।
सहकारी छानबिन संसदीय समितिले काँग्रेसका उपसभापति गुरुङ र एमाले सांसद पोखरेल पनि सहकारी ठगी प्रकरणमा संलग्न रहेको देखाएकाले सरकारले उनीहरूमाथि पनि तत्काल छानबिन गरी दोषी देखिए कारबाहीको दायरामा ल्याउनुपर्ने महामन्त्री थापाको भनाई थियो । उहाँले सरकारले आम नागरिकको विश्वसनीयता जगाउन पनि ठगीमा संलग्न जो कोही पनि अनुसन्धान गरी कारबाहीको दायरामा ल्याउने काममा ढिलाइ गर्न नहुने बताउनु भएको छ।
सोमवार नेपाल राष्ट्र बैंकले काठमाडौँमा आयोजना गरेको दसैँ, तिहार, छठ लगायतका पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै महामन्त्री थापाले सरकारले न्यायको कठघरामा जो कोही पनि उभिनुपर्छ भन्ने मान्यता स्थापित गराउन पनि सहकारी ठगीमा संलग्न सबैलाई कारबाहीको दायरामा ल्याउन हच्किच्याउने काम गर्न नहुने बताउनु भएको छ ।
महामन्त्री थापाले प्रधानमन्त्री, मन्त्रीहरूलाई धेरै नबोल्न पनि सुझाव दिनुभएको छ । सरकारमा बसेकाहरूले बोल्ने नभई उनीहरुले गरेका काम बोल्नुपर्ने महामन्त्री थापाको भनाई थियो । महमन्त्री थापाले अबको ३ वर्ष तलमाथि नहुने भएकाले सरकारले त्यही अनुसार काम गर्नुपर्ने बताउनुभयो ।
महामन्त्री थापाले सरकार बलियो भएकाले सन्देश दिनेगरी काम हुनुपर्ने बताउनुभयो ।
