काठमाडौँ, १४ कात्तिक । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सिंहदरबार वैद्यखानामा आयुर्वेदिक औषधिको उत्पादन बढाइ बाहिरी मुलुकबाट हुने आयात बन्द गर्न जरुरी रहेको बताउनु भएको छ ।
बुधवार सिंहदरबार वैद्यखानाको ३० औँ वार्षिकोत्सव समारोहमा बोल्दै उहाँले औषधिको उत्पादन बढाइ बाहिरी मुलुकबाट हुने आयात बन्द गर्न जरुरी रहेको बताउनुभयो । उहाँले सरकारले ७५३ वटै पालिकामा आयुर्वेद औषधि विक्री गर्दै आएको भएपनि ९० प्रतिशत आयुर्वेदिक औषधि भने बाहिरबाट आयात गर्नुपरेको बताउनुभयो । वैद्यखानाले माग पूरा गर्नसके बाहिरी मुलुकबाट आयात हुने औषधि बन्द गर्न सक्ने बताउनु भएको हो ।
उहाँले औषधिको उत्पादन बढाए विक्री गर्ने व्यवस्थित वातावरण सरकारले बनाउने प्रतिबद्धता जनाउनु भएको थियो । उहाँले वैद्यखानालाई आत्मनिर्भर बनाउन सरकारको तर्फबाट गर्नुपर्ने आवश्यक काम गर्न मन्त्रालय तयार रहेको बताउनुभयो । उहाँले सिंहदरबार वैद्यखानालाई सम्पन्न नबनाएसम्म वैद्यखानाबाट सेवा निवृत्तपछि पाउने सुविधा नपाउने पनि बताउनु भएको छ । उहाँले सिंहदरबार वैद्यखानालाई अब पनि टालटुल गरेर अघि लैजाने स्थिति नरहेको भन्दै अब सबै मिलेर उकास्नुपर्ने जरुरी रहेको बताउनुभयो ।
मन्त्री पौडेलले नेपालले आयुर्वेदिक औषधिको मामिलामा आत्मनिर्भर मात्र नभई निर्यात पनि गर्ने क्षमता बनाउन पर्ने बताउनुभयो ।
स्वास्थ्यमन्त्री पौडेलले सबै मिलेर वैद्यखाना बनाउने सङ्कल्प गर्न आग्रह गर्नुभएको छ । उहाँले वैद्यखानालाई योगदान गर्ने क्षमताको विकास जरुरी रहेको बताउनु भएको हो ।
