दाङ १४ कात्तिक । लुम्बिनी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कार्यरत सचिव कृष्ण पौडेललको थारु आयोगमा सरुवा भएको छ । लुम्बिनी प्रदेशमा विगत पाँच महिनादेखि कार्यरत सचिव पौडेलको थारु आयोगमा सरुवा भएको हो । बुधवार सचिव पौडेललाई फेरी भेटौला कार्यक्रम मार्फत मुख्यमन्त्री चेतनारायण आचार्यले विदाई गर्नु भएको छ ।
जेठ १४ गते सचिव पौडेल लुम्बिनी प्रदेशमा सेवाको लागि प्रवेश गर्नु भएको थियो । उहाँको भदौ २७ गते सरुवा भएपनि कार्तिक १४ गतेसम्म कामकाजको लागि प्रदेशमै रहनु भएको थियो । यो अवधिमा प्रदेशको समृद्धि र विकासमा नीतिगत तहबाट पौडेलले खेलेको भूमिको प्रशंसा गर्दै सम्मान गरिएको छ । यस्तै उर्जा, जलस्रोत सिंचाई मन्त्रालयमा कार्यरत सचिव मिनराज ढकाल अनिवार्य अवकाश हुनुभएको छ । सचिव ढकाललाई पनि दोसल्ला ओढाउदै मायाँको चिनो प्रदान गरेर विदाई गरिएको छ ।
कार्यक्रमलाई सम्वोधन गर्दै मुख्यमन्त्री चेतनारायण आचार्यले कर्मचारी तहबाट जनतालाई सहज हुनेगरी सेवा प्रवाह गर्नुपर्ने र त्यो कामका लागि विदाईहुने सचिवहरुबाट प्रभावकारी कार्यसम्पादन भएको भन्दै प्रशंसा गर्नु भएको छ । जनसेवामा खटिएका कर्मचारीबाट सेवाग्राहीले सहजकर्ताको भूमिका चाहने र सोही अनुसार सरल रुपमा सेवा प्रवाहको आवश्यकता पर्ने उहाँले बताउनु भयो । कार्यक्रममा प्रदेशका प्रमुख सचिव महादेव पन्थले प्रदेशलाई सुशासन कायम गर्न आधारभुत तहबाट बलियो जग निर्माण गर्ने काम भएको भन्दै प्रदेशको समृद्धिमा कर्मचारीतहबाट योगदान रहेको बताउनु भयो ।
