काठमाडौ, २१ कात्तिक । सन् २०२४ को अमेरिकी राष्ट्रपतीमा डोनाल्ड ट्रम्प निर्वाचित हुनु भएको छ । पूर्व राष्ट्रपतिसमेत रहनुभएका उहाँले २७० इलेक्ट्रोल कलेज पार गर्दै २०२४ को निर्वाचन जित्नुभएको हो ।
अमेरिकी समाचार संस्था सिएनएनका अनुसार रिपब्लिकन पार्टीका उम्मेदवार ट्रम्पले २७६ इलेक्ट्रोल कलेज जितिसक्नुभएको छ । यता डेमोक्र्याटिक पार्टीकी उम्मेदवार कमला ह्यारिसले २१९ इलेक्ट्रोल कलेज जित्नुभएको हो । अमेरिकामा राष्ट्रपतिको निर्वाचन जित्न २७० इलेक्ट्रोल कलेज चाहिन्छ। कमला अहिलेकी उपराष्ट्रपति समेत हुनुहुन्छ ।
यसपालि पपुलर मतमा पनि ट्रम्प नै अगाडि हुनुहुन्छ । ट्रम्पले ७ करोड ८ लाख ७७ हजार ४८४ मत प्राप्त गर्नुभएको छ । ह्यारिसले ६ करोड ५८ लाख १२ हजार ७५९ मत प्राप्त गर्नुभएको छ ।
ट्रम्प सन् २०१६ मा हिलारी क्लिन्टनलाई हराएर पहिलो कार्यकालका लागि ४५ औं राष्ट्रपति बन्नु भएको थियो । तर सन् २०२०मा डेमोक्र्याटिक पार्टीका जो बाइडेनले ट्रम्पलाई पराजित गर्नुभयो । पुनः ४७ औं राष्ट्रपतिमा ट्रम्प निर्वाचित हुनुभयो ।
