काठमाडौं, २५ कात्तिक । खानेपानीमन्त्री प्रदीप यादवले सरकारले सहकारी ठगहरुबाट असुलउपर गरेर सहकारी पीडित नागरिकको पैसा फिर्ता गराउने बताउनु भएको छ ।
शनिवार काठमाडौंमा राष्ट्रिय फोटो पत्रकार समूह, नेपालको २७ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । उहाँले वर्तमान सरकारले राम्रो सन्देशसहित राम्रो काम गरिरहेको उल्लेख गर्नुभएको छ ।
उहाँले देशमा सहकारी पीडित नागरिकहरु धेरै भएको भन्दै सहकारी पीडित नागरिकको पैसा फिर्ता गराउनको निमित्त सरकारको कदम अघि बढेको दाबी गर्नुभएको छ । उहाँले अहिले ६ सय जना भन्दा बढी सहकारी ठगलाई प्रहरी कस्टडीमा सरकारले ल्याएको बताउनु भएको हो ।
गल्ती गर्नेहरु ठूला राजनीतिक दलहरु नै भएपनि सरकारले नछोड्ने बताउनुभयो । जुलुस आन्दोलन गरेर सहकारी पीडितले न्याय नपाउन् भन्ने हेतुबाट काम भइरहेको रास्वपा लक्षित टिप्पणी समेत गर्नुभएको हो ।
उहाँले सहकारी ठगबाट पैसा असुल गरेर सहकारी पीडितको पैसा सरकारले फिर्ता गराउने बताउनुभयो । वर्तमान सरकारले गल्ती गर्नेलाई छुट नदिने बताउनु भएको छ । ढोरपाटनका मेयर नेकपा एमालेबाट रहेको र एमाले अध्यक्ष केपी शर्मा ओली आफैँ प्रधानमन्त्री भएपनि सहकारीको रकम अपचलन गरेको आरोपमा मेयरलाई अनुसन्धानमा ल्याइएको बताउनुभयो ।
उहाँले आन्दोलन गरेर समस्या बल्झाउन खोजिरहेको भन्दै बिरोध गर्नेहरु सफल नहुने बताउनुभयो । उहाँले सरकारले भनेको काम पूरा गरिरहेको र काठमाडौं उपत्यकावासीलाई दशैँअघि नै पानी खुवाउन सफल भएको दाबी गर्नुभएको छ ।
