काठमाडौं २७ कात्तिक । यूएईमा जारी आईसीसी यू-१९ महिला टी-२० विश्वकप छनोटअन्तर्गत आफ्नो चौथो खेलमा नेपालले कुवेतलाई १६५ रनले पराजित गरेको छ । मंगलबार भएको आफ्नो चौथो खेलमा नेपालले कुवेतलाई १६५ रनको फराकिलो अन्तरले हराएको हो । नेपालले दिएको २१४ रनको लक्ष्य पछ्याएको कुवेत १३ ओभरमा ४८ रनमा अलआउट भयो ।
कुवेतलाई सस्तैमा अलआउट गर्न नेपालकी कप्तान पूजा महतोले घातक बलिङ गरिन् । उनले ४ ओभरमा ८ रन खर्चिएर ५ विकेट लिइन् । सिमाना केसी र रचना कुमारी चौधरीले समान २–२ विकेट लिइन् । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले विस्फोटक ब्याटिङ गर्यो । नेपालकी कप्तान पूजाले शानदार शतक प्रहार गरिन् । उनले ६९ बलमा १३० रनको नट आउट पारि खेलिन् ।
यस्तै उपकप्तान सोनी पाख्रिनले पनि ४३ रनको नट आउट पारि खेलिन् । उनले ३३ बलको सामना गरिन् । ओपनर सावित्री धामीले ११ र साना प्रवीणले ६ रनको योगदान दिइन् ।
