रोल्पा, २९ कात्तिक । प्रेस संयोजकको राजिनामा माग गर्दै नेपाल कम्युनिष्ट पार्टीले ध्यानाकर्षण गरेको छ । माडी गाउँपालिकाको प्रेस संयोजकमा कार्यरत बुद्धिमान वलीको राजिनामा माग गरिएको छ ।
माडी गाउँपालिकाको प्रेस संयोजकमा नियुक्ति हुँदा विज्ञापन नै नगरी एक्कासी उक्त पदमा नियुक्ति भएको र विभिन्न विषयमा वली माथि उठिरहेको प्रश्नको जवाफ दिन नसकेको भन्दै राजिनामा माग गर्दै ध्यानाकर्षण गरेको छ ।
नेपाल कम्युनिष्ट पार्टी जिल्ला सेक्रेटरी सन्दीप सी र इन्चार्ज असिना सीद्वारा संयुक्त हस्ताक्षर सुझाव पत्रमा भनिएको छ, “श्री बुद्धिमान वली ज्यु, तपाई माडी गाउँपालिकाको प्रेस संयोजकमा नियुक्ति हँदा विज्ञापन नै नगरी एक्कासी तपाई कसरी त्यो पदमा नियुक्ति हुनु भयो ? विभिन्न समयमा तपाई माथि उठिरहेको प्रश्नको उचित जवाफ दिन नसक्नुले हाम्रो पार्टी नेकपा रोल्पाको गम्भीर ध्यानाकर्षण भएको छ । यो पदाको विज्ञापन गरि प्रतिस्पर्धाको आधारमा योग्य व्यक्तिलाई त्यो जिम्मेवारी दिनुपर्ने कानूनी मान्यता हुँदा हुँदै विज्ञापन प्रक्रिया पूरा नगरी सिधै तपाईलाई नियुक्ति दिनु सरासर नियम कानून विपरीत भएको हुँदा इमान्दारीपूर्वक त्यो पदबाट तपाई राजीनामा गरि एउटा सभ्य नागरिकको परिचय दिन अनुरोध छ । तपाई नियुक्ति भएको पदको समयसिमा जम्मा ६ महिनासम्म मात्र हुने र ६/६ महिनामा त्यो पदको विज्ञापन हुनुपर्ने नियम भएपनि नियुक्ति भएदेखि हालसम्म लगातार त्यो पदमा तपाई भैराख्नुको रहस्यले सबैलाई चकित बनाएको छ । अर्को विषय रेडियो माडी आवाजको स्थापनाकालदेखि माडी सरकाले वर्षेनी रु २ लाख रकम दिइरहेकोले रेडियो माडी आवाजको आय–व्याय हेर्न र बुझ्न पाउने अधिकार आम नागरिकको हुन्छ र छ पनि त्यसैले माडी आवाजको स्थापनाकालदेखि हालसम्मको आय–व्याय आजको मितिले १५ दिन भित्र देखाउनुहुन अनुरोध गर्दछौं । यदि हिसाब किताब नदेखाएमा नेकपा रोल्पाले उचित समयमा जनताको सल्लाहमा आवश्यक कार्वाही गरिने जानकारी गराउँदछौं ।”

