काठमाडौं ३ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वसभामुख दमननाथ ढुंगानाको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर सम्मान प्रकट गर्नुभएको छ । सोमबार ज्ञानेश्वरस्थित सानो गौचरन पुगेर प्रधानमन्त्री ओलीले राष्ट्रिय झण्डा ओढाएर ढुङ्गानाप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको हो ।
त्यस अवसरमा प्रधानमन्त्री ओलीले पूर्वसभामुख ढुङ्गाना नेपालको संसदीय अभ्यासमा बेग्लै पहिचान र मान्यता राख्ने बहुआयामिक व्यक्तित्व भएको बताउनुभयो । यसैगरी, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दिवङ्गत पूर्वसभामुख दमननाथ ढुङ्गानाप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।
दिवङ्गत ढुङ्गानाप्रति श्रद्धाञ्जली व्यक्त गर्न सानो गौचरनमा पार्टी पदाधिकारी, केन्द्रीय सदस्य, पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन, पूर्वप्रधानमन्त्रीहरू डा। बाबुराम भट्टराई र झलनाथ खनाल, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी तथा पूर्वसांसद, पूर्वप्रशासक, वरिष्ठ कानुन व्यवसायी, मानवअधिकारकर्मी र नागरिकको उल्लेख्य उपस्थिति छ ।
यसैगरी, गृहमन्त्री रमेश लेखक, उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल र उपप्रधान एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहलगायतका नेताहरु सानोगौचरन पुगेर श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । त्यस्तै, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले ढुङ्गानाको पार्थिव शरीर श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । त्यस्तै आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले राजकीय सम्मानका साथ उहाँको अन्त्येष्टि गर्ने निर्णय गरेको थियो ।
