काठमाडौं ३ मंसिर । पूर्वसभामुख दमननाथ ढुंगानाको पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । उपचारको क्रममा आइतबार दिउँसो दिवंगत ढुंगानाको सोमबार राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको हो । ढुंगानालाई उहाँका छोराहरु निमेष ढुंगाना र निशेष ढुंगानाले दागबत्ती दिनु भएको हो । सो क्रममा नेपाली सेनाको टोलीले सलामी अर्पण गर्नुका साथै शोक धुन बजाएको थियो ।
कलेजोसम्बन्धी समस्याको उपचारका लागि पुरानो बानेश्वरको फ्रन्टलाइन अस्पताल भर्ना भएका ८३ वर्षका ढुंगानाको उपचारका क्रममा आइतबार दिउँसो निधन भएको थियो । उहाँको पार्थिव शरीलाई अन्तिम श्रद्धाञ्जलीका लागि सानोगौचरनमा राखिएको थियो । त्यहाँ प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गर्नु भएको थियो ।
श्रद्धाञ्जली अर्पण गर्न पूर्वराष्ट्रपति डा. रामवरण यादव, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव लगायत पुगेका थिए । ढुंगाना २०४८ सालदेखि २०५१ सम्म सभामुख हुनु भएको थियो ।
