काठमाडौँ , ४ मंसिर । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सडकको क्षमता भन्दा बढी भार बोक्न नदिने गरी कानुनी प्रबन्ध गर्न लागिएको बताउनु भएको छ ।
नेपाल ट्रक यातायात व्यवसायी महासंघले धादिङमा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले डकको क्षमता भन्दा बढी भार बोक्न नदिने गरी कानुनी प्रबन्ध गर्न लागिएको जानकारी दिनुभएको हो । उहाँकाअनुसार ४९ टन भन्दा बढी भार बोकेर सडकमा गुडाउन नपाउने कार्यविधि बनाएको बताउनुभयो ।
उहाँले ४९ टन भन्दा बढी बोकेर हिँड्दा के कारबाही हुने भन्ने स्पष्टता नरहेकाले सरकारले अहिले त्यसलाई पूर्ण रुपमा रोक लगाउने गरी आवश्यक प्रबन्ध गर्न लागेको बताउनुभयो । उहाँले छिमेकी मुलुकहरूको बाटोबाट आएका सामानहरूलाई सीमानाकामै निरीक्षण गरी सडकको भार क्षमता भन्दा बढी बोक्न नदिने बताउनु भएको छ ।
उहाँले सरकारले अब कडाईका साथ नियमावलीलाई लागू गर्ने र आवश्यक परे कानुनलाई पनि संशोधन गरेर अघि बढ्ने सोच बनाएको उल्लेख गर्नुभयो ।
मन्त्री दाहालले सरकारले विकासका कामहरु अघि बढाउने हुटहुटी रहेको बताउनुभयो । उहाँले सडक सञ्जाल व्यवस्थित गर्न सरकारले आवश्यक काम गरिरहेको बताउनुभयो ।
