काठमाडौं ७ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस र एमालेको सहकार्य सरकार ०८४ को चुनावसम्म रहने बताउनु भएको छ । शुक्रबार काठमाडौँको दरबारमार्गमा आयोजित सभालाई सम्बोधन गर्ने क्रममा उहाँले कुनै पनि भ्रममा नपर्न आग्रह समेत गर्नुभयो ।
“ सबै कुरा बुझे हुन्छ ०८४ सम्म गठबन्धन कायमै रहन्छ,” उहाँले भन्नुभयो, “०८३ असारमा शेरबहादुर देउवाजीलाई सरकार जिम्मा लगाउँछु । अब मैले १८ र शेरबहादुर देउवाजीले १८ महिना सरकार चलाउछौँ ।” प्रधानमन्त्री ओलीले सरकार बन्दै बन्दैन भन्नेहरू अहिले पनि फरवरीको भाका राख्दै गरेको बताउनुभयो । भ्रम छर्नेहरूले भाका सार्दै सरकारको आयुको मिति तोक्ने गरेको उहाँले बताउनुभयो ।
