• ट्रेण्डिङ्ग :
सिक्टा सिँचाइ आयोजनाको समस्या समाधान स्थानीय तहमा गर्न आग्रह

सिक्टा सिँचाइ आयोजनाको समस्या समाधान स्थानीय तहमा गर्न आग्रह


  • 2.0K
    SHARES
    • मंसिर ११, २०८१ मंगलबार
    • १ बर्ष अघि
    • 3.0K Views

    सिक्टा सिँचाइ आयोजनाको समस्या समाधान स्थानीय तहमा गर्न आग्रह

    बाँके ११ मंसिर । राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनासँग सम्बन्धित समस्या स्थानीय तहमा नै समाधान गर्न आग्रह गरिएको छ । नीतिगत समस्याका कारण दुई दशक बितिसक्दा पनि आयोजना पूरा नभएकोमा चिन्ता व्यक्त गर्दै स्थानीयले द्रुत गतिमा आयोजनाको काम हुनुपर्नेमा जोड दिएका छन् ।  

    images

    प्रतिनिधिसभा, पूर्वाधार विकास समितिका प्रतिनिधिहरूसँगको छलफलमा स्थानीय र सरोकारवालाहरूले कानूनको परिधिभित्र रहेर आयोजनाका उल्झन टुङ्ग्याउनुपर्ने समितिका सदस्य ठाकुर गैरेले बताउनु भयो । उहाँले स्थानीय तहबाट हुने काम स्थानीय रूपमा नै सम्पादन गर्न सुझाउनु भयो । 

    बाँकेका जनताको हितका लागि सो परियोजना आएको उल्लेख गर्दै गैरेले नहर क्षेत्रमा भएको अतिक्रमणलाई स्थानीय तहसँग समन्वय गरेर हल गर्नुपर्ने बताउनु भयो । ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्न प्रधानमन्त्री केपी ओली नेतृत्वको वर्तमान सरकार प्रतिबद्ध रहेकाले समितिले प्रस्तुत गर्ने अध्ययन प्रतिवेदनलाई सकारात्मक रूपमा ग्रहण गर्दै आयोजना निर्माणमा सघाउने गैरेले विश्वास व्यक्त गर्नुभयो । 

    राष्ट्रिय जल उपभोक्ता महासंघका अध्यक्ष शालिकराम डाँगीले सिक्टा सिँचाइ आयोजनाले पूर्णता पाउन अझै ४० वर्ष लाग्ने आशंका व्यक्त गरे । उहाँले गौरवको आयोजना भनिए पनि बाँकेका किसानको भावनाको कदर नभएको गुनासो गर्नुभयो ।  स्थानीय भीम ओलीले आयोजनाको विस्तृत परियोजना प्रतिवेदन ‘डीपीआर’मा नै त्रुटि रहेको आरोप लगाउँदै त्यसलाई संशोधन गर्नुपर्नेमा जोड दिनुभयो । दश वर्षभित्रै ३४ हजार हेक्टर कृषियोग्य जमिनमा सिँचाइ पुर्‍याउने योजनाका साथ थालिएको सिक्टा थप नौ हजार हेक्टरमा सिँचाइ सुविधा पुर्‍याउने योजना बनिसक्दा कार्य प्रगति भने आशाजनक छैन ।

    आयोजनास्थलको निरीक्षणमा प्रतिनिधिसभा सदस्य सूर्य ढकाल, दीपा शर्मा, प्रदेशसभा सदस्य बादशाह कुर्मी, भण्डारीलाल यादव, नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टलगायत जनप्रतिनिधि सहभागी थिए । सिक्टा सिँचाइ आयोजना प्रमुख राजु आचार्य र प्राविधिक सम्मिलित टोलीले आयोजनाका काम तीव्र गतिमा अघि बढाउन सरकारलाई निर्देशन दिएको छ । रासस


    तेस्रो आँखा