• ट्रेण्डिङ्ग :
‘विपद् पूर्व तयारीले क्षति न्यूनीकरण गर्न सकिन्छ’ : मुख्यमन्त्री कार्की

‘विपद् पूर्व तयारीले क्षति न्यूनीकरण गर्न सकिन्छ’ : मुख्यमन्त्री कार्की


  • 1.8K
    SHARES
    • मंसिर १२, २०८१ बुधबार
    • १ बर्ष अघि
    • 2.7K Views

    ‘विपद् पूर्व तयारीले क्षति न्यूनीकरण गर्न सकिन्छ’ : मुख्यमन्त्री कार्की

    मोरङ, १२ मंसिर । कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विपद् पूर्व तयारीले क्षति न्यूनीकरण गरी जनताको जीउधनको सुरक्षा गर्न सकिने बताउनु भएको छ । 

    images

    आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा आज आयोजित अग्नि नियन्त्रणका सामग्री हस्तान्तरण कार्यक्रममा उहाँले  विपद् नियन्त्रण गर्न नसके पनि क्षति र जोखिम कम गर्न प्रभावकारी रूपमा पूर्व तयारी गर्नुपर्नेमा जोड दिनुभयो ।

    मुख्यमन्त्री कार्कीले सशस्त्र प्रहरी बल बराह बाहिनी पकली सुनसरीका प्रमुख शुम्भ सुवेदीलाई अग्नि नियन्त्रणका लागि १७ लाख १७ हजार आठ सय २० मूल्य बराबरको सात किसिमका सामग्री हस्तान्तरण गर्नुभयो ।

    उहाँले पूर्व तयारीबाट दुर्गम स्थानमा विपद्बाट हुने घटना नियन्त्रण गर्न सहयोग पुग्नुका साथै जनधनको क्षति रोक्न सकिने धारणा राख्नुभएको छ ।

    मुख्यमन्त्री कार्की विपद् नियन्त्रणमा जनताको सक्रिय सहभागिता गराउन सरकार क्रियाशील रहेको बताउनुभयो ।

    उहाँले बाढीपहिरो आउने स्थानमा स्थानीय पालिकासँगको सहकार्य र सहयोगमा आगामी जेठ अगाडि बस्ती सार्ने योजना बनाइएको जानकारी दिनुभयो ।

    मुख्यमन्त्री कार्कीले जाडोयाममा तराईमा शीतलहरू आउनसक्ने भन्दै शीतलहरबाट आमनागरिकलाई बचाउन आवश्यक तयारी गर्न मन्त्रालयलाई निर्देशन दिनुभएको हो ।

    उहाँले सडक दुर्घटनाबाट ठूलो मानवीय एवं भौतिक क्षति भइरहेकाले यसलाई नियन्त्रण गर्न तीन तहका सरकारको समन्वय हुनुपर्नेमा जोड दिनुभयो ।

    बराह बाहिनी सुनसरीका प्रमुख सुवेदीले प्राप्त सामग्रीले अग्नि नियन्त्रणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

    मन्त्रालयका निमित्त सचिव कमल थापाले यस वर्ष नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई एक करोड ५० लाखका दरले विभिन्न विपद् व्यवस्थापनका सामग्री उपलब्ध गराउने मन्त्रालयले तयारी गरेको जानकारी दिनुभयो । 


    तेस्रो आँखा