काठमाडौं, १५ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री आरजु राणा देउवाले प्रधानमन्त्रीको आसन्न औपचारिक चीन भ्रमणको बारेमा राष्ट्रपति रामचन्द्र पौडेललाई जानकारी गराउनुभएको छ ।
राष्ट्रपति भवन शीतल निवासमा शनिबार साँझ प्रधानमन्त्री ओली र परराष्ट्रमन्त्री राणाले आफ्नो आसन्न चीन भ्रमणबारे राष्ट्रपति पौडेललाई जानकारी गराउनुभएको हो ।
राष्ट्रपति पौडेलले प्रधानमन्त्री ओलीलाई भ्रमणको सफलताका लागि शुभकामना दिएको पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो ।
परराष्ट्रमन्त्री राणाले आफ्नो तीन दिने चीन भ्रमण र त्यहाँ चिनियाँ विदेशमन्त्री वाङ यीसँग भएका छलफल र कुराकानीको बारेमा जानकारी गराउनु भएको थियो ।
मंसिर १७ गतेदेखि २० गतेसम्म हुने चीन भ्रमणका लागि प्रधानमन्त्री ओली सोही दिन नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ।
