काठमाडौं, २० फागुन। नेकपाका महासचिव नेत्र विक्रम चन्द (विप्लव)ले एमसीसी नेपालको परिवर्तनकारी आन्दोलनलाई सिध्याउन ल्याइएको साम्राज्यवादी निति भएको बताएका छन्। एमसीसीविरुद्धको संयुक्त सभालाई सम्बोधन गर्दै नेता विप्लवले एमसीसी भुमण्लीकृत पुँजीवाद र अनुदान सहितको हस्तक्षेपकारी निति भएको बताएका हुन्।
उनले भने, ‘एमसीसी अनुदान सहितको हस्तक्षेपकारी निति अन्तर्गत आएकाले यसलाई सामान्य रुपमा हेरिनु हुँदैन्।’ संसदवादी दलहरुलाई उनले प्रजातन्त्रको चिन्ह र कम्युनिष्टहरुको फित्ता बाधेका विदेशी नोकर चाकरहरुले राष्ट्रघात गरेको आरोप लगाए। नेपालका कम्युनिष्टहरुले साम्राज्यवादीहरुका अघि सिर झुकाए घुँडा टेकेको उनको आरोप छ।
‘यसमा सबैभन्दा बढी प्रचण्डले गद्दारी गरेर देश बेच्ने काम गरेका छन्,’ उनले भने ‘ससाम्राज्यवादीको दास बनेर कुर्ची र सत्ताको अन्धो बनेका केपी ओली, माधव नेपाल र प्रचण्डले केही थान मन्त्री, सांसद र स्थानीय चुनावका नाममा जनतालाई बिर्सिएका छन्।’ नेपालमा कथित कम्युनिष्टहरुले जनतालाई यसैगरी घात गरिरहेको भन्दै एमसीसीका नाममा राष्ट्रघात गरेर कुर्चीसँग साटेकाे उनले आरोप लगाए। जनताको मुक्तिका लागी हजारौं सहिदहरुले बलिदानी गरेको भन्दै माओवादी अध्यक्ष प्रचण्डले क्रान्ति र परिवर्तनको नाममा हजारौंलाई मर्नका लागी लामबद्ध गराएर आफूले कुर्चीसँग देश साटेको बताए।
एमसीसी नामको साम्राज्यवादी अनुदान नेपालका लागी घातक भएको थाहा पाउँदा पाउँदै केही थान सांसद र मन्त्री पाउने नाममा नेपालका कम्युनिष्टहरुले राष्ट्रघात गरेको जिकीर गरे। जनताको भावना र चाहानाहरुलाई लत्याउदै फागुन १५ गते संसदबाट नेपाल बेचेको उनको आरोप छ। नेपाल र नेपालीले फागुन १५ लाई इतिहासमा खतरनाक कालो दिनका रुपमा लिइने नेता चन्दले बताए। अमेरिकी साम्राज्यवादीहरुको नोकर बनेर दलाली संसदवादी दलहरुले राष्ट्रघात गरेको उनको आरोप छ।
