काठमाडौँ, १६ मंसिर । राष्ट्रिय सभा सदस्यहरूले खेलकुद क्षेत्रमा लगानी बढाउन सरकारसँग आग्रह गरेका छन् ।
आइतबार सिंहदरबारमा बसेको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै सांसदहरूले खेलाडी र खेलकुदमा लगानी बढाउनुपर्नेमा जोड दिएका हुन् । उनीहरुले जितेर आइसकेपछि खुसी हुने र स्याबासी दिनु भन्दा पहिला जित्नका लागि आवश्यक व्यवस्थापन गर्न लगानी बढाउनुपर्नेमा जोडदिएका छन ।
बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य सुमित्रा बिसीले देशभरका खेलकुद भौतिक पूर्वाधार बन्नुपर्ने आवश्यकता रहेको बताउनुभयाे । उहाँले सबैतिर बजेट छर्नु भन्दा एउटामा लगानी गरेर समयमै सम्पन्न गर्नुपर्ने आवश्यकता औँल्याउनुभयाे । उहाँले खेल जितेर आइसकेपछि खुसी हुने र बधाई दिने तर खेल जित्नका लागि लगानी नगर्ने परिपाटी अन्त्य गर्नुपर्ने बताउनुभयाे ।
समितिको बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य मदनकुमारी साहले युवा तथा खेलकुद मन्त्रालयले युवाहरूको भन्दा बढी खेलकुदको क्षेत्रमा मात्रै काम गरिरहेको बताउनुभयाे । उहाँले समग्र युवाहरूको विकासका लागि नीति भएपनि कार्यान्वयन गर्न नसकेको आरोप लगाउनुभयाे । उहाँले सिङ्गो मन्त्रालय नै खेलकुदमा केन्द्रित हुँदा पनि खेलकुदको स्थिति दयनीय रहेको उल्लेख गर्नुभयाे । उहाँले हरेक विद्यालयमा एक खेल शिक्षकको व्यवस्था गरिने नीति कहाँ पुग्यो भनेर प्रश्नसमेत गर्नुुभयाे ।
राष्ट्रिय सभा सदस्य रेनु चन्दले खेलाडीहरूको दिगो व्यवस्थापन हुनेगरी काम गर्न सरकारलाई सुझाव दिनुभयाे । खेलमा युवाशक्ति आकर्षित गर्न उसको लागि जागिर र भत्ताको कुरा ऐनमा नै समावेश गर्नुपर्ने बताउनुभयाे । उनले खण्डहर रंगशालामा अभ्यास गराएर मेडलको आस गर्न नहुने बताउनु भएको छ ।
समितिको बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य पदमबहादुर परियारले नेपालमा अपाङ्गता भएका व्यक्तिहरूको सहभागितालाई प्रवर्द्धन गर्नेगरी नेपाल पाराओलम्पिक कमिटी र राष्ट्रिय पाराओलम्पिक कमिटी दुई वटा समितिहरू गठन भएकोप्रति आपत्ति जनाउनुभयाे। उहाँले अपाङ्गता भएका व्यक्तिहरूले नै नेतृत्व गरेको समिति हुँदाहुँदै अर्को समिति बनाएकोप्रति आपत्ति जनाउनु भएको छ ।
राष्ट्रिय सभा सदस्य परियारले राष्ट्रिय खेलकुद समयमा नै हुन नसके मन्त्रालयले गरेको काम नै नदेखिने भन्दै समयमै राष्ट्रिय खेलकुद सम्पन्न गर्न सरकारसँग आग्रह गर्नुुुभयाे ।
