तुलसीपुर, १७ मंसिर । दाङमा टिप्परले मोटरसाईकललाई ठक्करबाट एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक तुलसीपुर उपमहानगरपालिका–१९ कुटीचौर निवासी १९ वर्षका सुदिप बुढाथोकी रहेको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी इश्वर थापाले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त दुर्घटनामा परी मोटरसाईकलको पछाडी सवार तुलसीपुर– १७ निवासी २२ वर्षका दिपक बस्नेत घाइते हुनु भएको छ ।
घोराहीबाट तुलसीपुरतर्फ आउँदै गरेको रा १ ख १२९१ नम्बरको टिप्परले सोही दिशातर्फ जादै गरेको रा ७ प ७४६ नम्बरको मोटरसाइकललाई साँझ पौने ७ बजे घोराही उपमहानगरपालिका १० झारबैरा भन्ने स्थानमा ठक्कर दिएको थियो । उनीहरुलाई उपचारका लागि राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान पुर्याए लगत्तै चिकित्सकले बुढाथोकीलाई मृत घोषणा गरेका थिए ।
त्यसैगरी सोही घटनामा परेर घाइते हुनु भएका बस्नेतको राप्ती विज्ञान स्वास्थ्य प्रतिष्ठानमा उपचार भइरहेको छ । टिप्पर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
