दाङ, २० मंसिर । दाङको तुलसीपुर उपमहानगरपालिकाका आन्दोलनरत कर्मचारी, नगर प्रमुख, प्रमुख प्रशासकिय अधिकृतबीच पाँच बुँदे सहमति भएको छ । पाँच बुँदे सहमतिपछि आन्दोलनरत कर्मचारीहरूले आन्दोलन फिर्ता लिएका छन् ।
गत कात्तिक १३ गते बसेको कार्यपालिका बैठकको निर्णय भन्दै मंसिर ६ गते ३३ जना कर्मचारीको स्तर घटुवा गरिएको सार्वजनिक भएपछि मंसिर १४ गतेदेखि कर्मचारीहरु आन्दोलनमा उत्रिएका थिए ।
पालिकाले स्थानीय तहका कर्मचारीहरूको तहवृद्धि सम्बन्धी कार्यविधि २०७८ अनुसार बढुवा गरिएका ३३ जना कर्मचारीमध्ये १२ जना पुनरावेदनमा गएका थिए भने १४ जना सर्वोच्च अदालतमा रिट दर्ता गराएका छन् । सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएकाले मुलुकी देवानी संहिता कार्यविधि २०७४ को दफा २३१ (ख) बमोजिम हालको पद कायम राखि खाइपाइ आएको सेवासुविधा उपलब्ध गराउने र सर्वोच्च अदालतबाट उक्त मुद्धामा अन्तिम फैसला आएमा सोही बमोजिम हुने गरी यथाशीघ्र नगर कार्यपालिका बैठकमा निणर्य गर्ने सहमति भएको छ ।
यस्तै अस्थायी करार कर्मचारीहरूको करार सम्झौता अविलम्ब गर्ने, कर्मचारी खटनपटन तथा अन्य कार्यहरू जनप्रतिनिधिसँग समन्वय गरेर गर्ने, प्रदेश लोकसेवा आयोग, लुम्बिनी प्रदेशले तुलसीपुर उपमहानगरपालिकामा कार्यरत स्थानीय तहका कर्मचारीहरुको तह बृद्धि सम्बन्धी कार्यविधि, २०७८ उपर गरेको पत्राचारका सन्दर्भका सन्र्दभमा सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन दर्ता भएको रिटको तुलसीपुर उपमहापालिकाले अपनत्व ग्रहण गरी त्यसमा लाग्ने सम्पूर्ण खर्च व्यहोर्ने र तुलसीपुर उपमहानगरपालिकामा कार्यरत आन्दोलित कर्मचारीहरुले आजैदेखि आन्दोलका स्थगित गर्ने सहमति भएको हो ।
सहमतिको पँच बुँदामा तुलसीपुर उपमहानगरपालिकाका तर्फबाट नगर प्रमुख टिकाराम खड्का, प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्र बहादुर डाँगी र सामाजिक विकास समितिका संयोजक मान बहादुर रावतले हस्ताक्षर गर्नुभएको छ । आन्दोलनरत कर्मचारीको तर्फबाट संघर्ष समितितका संयोजक ललित बहादुर घर्ति, उपसंयोजक टोप बहादुर डाँगी, सचिव झरेन्द्र खरेल, पदम ज्ञवाली र केशव डाँगीले हस्ताक्षर गर्नुभएको छ ।
