काठमाडाैं,२१ फागुन । एमसीसी सम्झौता संसद्बाट अनुमोदनपछि सत्ता गठबन्धनका नेताहरू संसद् अवरोध फुकाउने र राजदूत नियुक्ति गर्ने छलफलमा जुटेका छन्। गठबन्धनको बिहीबार बसेको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी अनुमोदनमा सहभागी सबैलाई धन्यवाद दिएका थिए।
सोही बैठकमा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले कुटनीति क्षेत्रलाई अस्तव्यस्त नबनाउन भन्दै राजदूत नियुक्तिको प्रसँग उठाएका थिए। स्रोतका अनुसार राजदूत नियुक्तिका विषयमा गठबन्धन दलमा भागबण्डा मिलिसकेको छैन।
माओवादीले चीनको राजदूत नियुक्ति आफ्नो भागमा पर्नुपर्ने माग प्रधानमन्त्रीसँग गरेको छ। यस्तै, नेकपा एसले जापान र कतारमा राजदूतमा आफूले सिफारिस गर्न पाउनुपर्ने माग गरेको बालुवाटार स्रोतले बतायो।
