काठमाडौं, २२ फागुन। प्रतिनिधि सभाले आइतबार ११ सदस्यीय महाअभियोग सिफारिस समिति गठन गरेको छ।
समितिमा एमालेबाट ४, कांग्रेसबाट २ जना, माओवादी केन्द्रबाट २ जना, नेकपा एसबाट १ जना, लोसपा र जसपाबाट १/१ जना /रहेका छन्। सभाले नेपालको संविधान, २०७२ को धारा १०१ को उपधारा ३ वमोजिम महाअभियोग सिफारिस समिति गठन गरेकाे हाे।
सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) का सांसदलहरुले यही फागुन १ गते प्रधानन्यायाधीसविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेका थिए । एमालेको सहभागिताबिना बसेको कार्यव्यवस्था परामर्श समिति बैठकमा सभामुख अग्नि सापकोटाले सिफारिस समिति गठनको प्रस्ताव लगेका हुन्। सत्तारुढ गठबन्धनका ९८ सांसदले जबराविरुद्ध महाअभियोग दर्ता गरेका थिए।
समितिले यसरी गर्छ काम
महाभियोगबाट पदमुक्त हुने व्यक्तिले संविधानको गम्भीर उल्लंघन गरेको तथा आचार संहिताको गम्भीर उल्लंघन गरेको भन्ने सूचना सही रहेको भनी प्रतिनिधि सभाका कम्तीमा तीन जना सदस्यले प्रमाणित गरी पेश गरेमा समितिले त्यस्तो उजुरीमाथि छानबिन अघि बढाउन सक्नेछ ।
त्यसपछि समितिले महाअभियोग सम्बन्धी कारबाहीका लागि प्रतिनिधि सभा समक्ष सिफारिस गर्नेछ र महाअभियोग प्रस्ताव अघि बढ्नेछ।
यस्तो प्रस्ताव प्रतिनिधिसभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको कम्तीमा दुई तिहाई बहुमतबाट पारित भएमा सम्बन्धित व्यक्ति पदबाट मुक्त हुने व्यवस्था संविधानमा छ।
महाअभियोगको प्रस्ताव पेश गर्ने आधार र कारण विद्यमान भए नभएको छानबीन गरी सिफारिस गर्ने कार्य भने महाअभियोग सिफारिस समितिले गर्नेछ।
महाअभियोग लागेपछि सम्बन्धित व्यक्तिले कारबाहीको अन्तिम टुंगो नलागेसम्म आफ्नो पदको कार्य सम्पादन गर्न पाउने छैन। महाअभियोगको आरोप लागेको व्यक्तिलाई सफाइ पेश गर्ने मौका पनि दिइनेछ।
महाअभियोग प्रस्ताव पारित भई पदमुक्त भएमा प्रधानन्यायाधीशले पदमा रहँदा कुनै कसूर गरेको भए त्यस्तो कसूरमा संघीय कानून बमोजिम कारबाही गर्न सकिने व्यवस्था संविधानमा छ।
महाअभियोगको प्रस्ताव पारित भई पदमुक्त भएको व्यक्तिले त्यस्तो पदबाट पाउने कुनै सुविधा लिन र भविष्यमा कुनै पनि सार्वजनिक पदमा नियुक्ति वा मनोनयन हुन पाउने छैनन्।
यस्ताे सूची:
एमाले
१. विष्णु पौडेल
२.लालबाबु पण्डित
३. शिबमाया तुम्बाहाम्फे
४. कृष्ण भक्त पोखरेल
कांग्रेस
५. मिन बहादुर विक
६. रामबहादुर विष्ट
माओवादी
७. यसोदा सुवेदी
८. रेखा शर्मा
नेकपा एस
९. कल्याणी खड्का
लोसपा
१०. एकवाल मियाँ
जसपा
११. प्रमोद साह
