• ट्रेण्डिङ्ग :
झ्याप्प जाने बत्तिले हैरानी

झ्याप्प जाने बत्तिले हैरानी


  • 5.1K
    SHARES
    • मंसिर ३०, २०८१ आइतबार
    • १ बर्ष अघि
    • 7.9K Views

    झ्याप्प जाने बत्तिले हैरानी

    तुलसीपुर ३० मंसिर । तुलसीपुरमा केही समयदेखि झ्याप लाइन जाने समस्या बढ्दै गएको छ । यहाँ एक दिनमा ५ देखि १० पटकसम्म यसरी लाइन जान्छ । यसरी दैनिक रुपमा एक्कासी लाइन जाने समस्याले गर्दा व्यवसायी तथा सर्वसाधारणहरु मर्कामा पर्दै आएका छन् । तेस्रो आँखाले एक हप्तामा लिएको डाटाअनुसार ४५ पटक लाइन काटिएको छ । एक पटक लाइन गएमा ५ सेकेन्डदेखि ३० मिनेटमा आउने गरेको छ ।  

    images

    पटक पटक लाइन जानाले व्यवसायमा समस्या हुनुका साथै विद्युतीय मेसिनमा समेत खराबी आउने गरेको मुद्रण व्यवसायी संघका केन्द्रीय पूर्व सदस्य तथा बागेश्वरी प्रिन्टर्सका सञ्चालक हरिभक्त डाँगीले तेस्रो आँखालाई बताउनु भयो । उहाँले यसरी पटक पटक लाइन काट्नु भन्दा प्राधिकरणले तालिका निकालेर लोडसेडिङगरेमा आफुहरु ढुक्क भएर काम गर्न सक्ने बताउनु भयो ।

    ‘झ्याप झ्याप बत्ति जाने गर्नाले काम रोकिनुका साथै मेसिनमा समेत समस्या देखिन थालेको छ’, उहाँले भन्नुभयो, ‘यसरी अघोषित रुपमा लाइन काट्नु भन्दा तालिका निकालेर लाइन काटेमा हामी ढुक्क भएर काम गर्ने थियौं ।’ मेसिन तीव्र गतिमा चलेको बेला एक्कासी बत्ति काटिंदा मेसिनमा प्राविधिक समस्या आउँनुका साथै मोटर सट हुने खतरा बढेको उहाँले बताउनु भयो । पटक पटक लाइन काट्नु भन्दा सूचना निकालेर लाइन काटेर मर्मत तथा व्यवस्थित गर्न प्राधिकरणलाई उहाँले आग्रह गर्नुभयो । विद्युत प्राधिकरणको विल भुक्तानीमा एक दिन ढिला भएमा जरिवाना लाग्ने तर पटक पटक लाइन जाँदा मेसिनमा पुगेको क्षती कस्ले व्यहोर्ने भन्ने गम्भिर प्रश्न उठेको डाँगीले बताउनु भयो ।

    यता नेपाल विद्युत प्राधिकरण तुलसीपुर वितरण केन्द्रका प्रमुख शिव नारायण गोसेलीले पटक पटक लाइन काटिनु तुलसीपुरको समस्या नभएको बताउनु भयो । उहाँकाअनुसार १३२ केभिको प्रशारण लाइन अन्तर्गत बाँकेको कुसुमबाट दाङ आउने लाइनको स्वीच कुसुममा रहेको र त्यहीँबाट नै समस्या आएको हो । कोहलपुर वितरण केन्द्रको सवस्टेशन कुसुममा कार्यरत एक कर्मचारीका अनुसार कुसुम वा बर्दियाको भुरीगाउँबाट लाइनको स्वीचिङ गर्दा झिपिक्क बत्ति जाने र आउने गरेको हो । ‘कुनै बेला भुरीगाउँ र कुनै बेला कुसुमबाट लाइन सञ्चालन भएको हुन्छ, भुरीगाउँबाट कुसुमको लाइन चलाउन स्वीच गर्दा बत्ति जान्छ’ उहाँले भन्नुभयो ‘दुई वटा लाइन एउटै ठाउँबाट चलाउने क्रममा लाइन सिफ्ट गर्दा यस्तो समस्या आएको छ ।’

    उता सवस्टेशन कुसुमका प्रमुख ओपेन्द्र श्रेष्ठले लाइनको सन्तुलन मिलाउने काम विद्युत प्रणाली सञ्चालन विभाग काठमाडौंले गर्ने भएकाले कुसुममा समस्या नरहेको बताउनु भयो । उहाँकाअनुसार विद्युतको लोड मिलाउन नसक्दा सिस्टमनै जाने समस्या हुन्छ । त्यसैले लोड कन्ट्रोल गर्न विद्युत प्रणाली सञ्चालन विभागले लाइन काट्ने गरेको उहाँको भनाइ छ ।

    उता विद्युत प्रणाली सञ्चालन विभागका एक कर्मचारीले जाडो समयमा दैनिक ३–४ पटकसम्म स्वीचङ हुँदा लाइन जाने गरेको बताउनु भयो । उहाँकाअनुसार इण्डिया र नेपालको सिस्टममा लोड मिलाउन लाइन स्वीच गर्नुपर्ने हुन्छ । इण्डियाबाट दैनिक एउटै किसिमको पावर नआउने भएकाले दैनिक ३० मिनेटदेखि ४ घण्टाको बिचमा पावरलाई सन्तुलन मिलाउनु पर्ने हुन्छ ।  ‘पावरलाई पूर्वको सिस्टममा लगाउने कि पश्चिमको सिस्टममा लाउने भन्ने हुन्छ । त्यसैले अहिले कुसुममा स्विचिङ भइरहेकाले लाइन जानेसमस्या देखिएको हो’ उहाँले भन्नुभयो । लाइन काटिने समस्या पूर्ण रुपमा हटाउन सकिदैन सकेसम्म आफूहरुले कम गर्दै आइरहेको उहाँको भनाइ छ । इण्डियाले धेरै पावरको लाइन दिएमा लमहीसम्म स्वीचिङ हुन्छ । आजभोलि कम पावर दिएकाले कुसुममा स्वीचिङ भइरहेको छ ।
     
    त्यस्तै नेपाल विद्युत प्राधिकरणका प्रवक्ता चन्दनकुमार भोजले भारतबाट विद्युत आयात–निर्यातको घोषित परिणामलाई कायम गर्नैपर्ने हुँदा लोडको सन्तुलन मिलाउन नेपालगञ्ज अन्तर्गत सेन्टरहरुमा स्वीचिङ गर्नुपर्ने बताउनु भयो । ‘नेपालमा रहेको केही ठूला उद्योगहरु सुरु भएमा लोड बढ्ने र केही समय बन्द हुँदा घट्ने हुन्छ, जसका कारण सन्तुलन मिलाउन इन्जिन ग्रिडमा लोड थपघट गर्नुपर्ने हुन्छ’ उहाँँले भन्नुभयो ‘लमही र भुरीगाउँमा स्वीचिङ पोइन्ट छ, लमही र भुरीगाउँको पोइन्टमा कुनै बेला इण्डियाको ग्रिड कुनै बेला नेपालको ग्रिडमा स्वीच गर्नुपर्ने हुन्छ, त्यही स्वीच गर्दा एकैछिनको लागि लाइन जाने गरेको छ ।’

    उहाँँकाअनुसार पश्चिम क्षेत्रका लागि ४० अर्व लगानीमा हुलाकी मार्ग गण्डकदेखि नेपागन्जसम्मको २२० केभिको लाइन, नयाँ सवस्टेशन मर्मत तथा नयाँ प्रसारण लाइन बन्दै गरेको छ । उक्त आयोजना सम्पन्न नहुँदासम्म लाइनको समस्या दिगो समाधान नहुने उहाँले तेस्रो आँखालाई बताउनु भयो । कर्णाली अहिले क्षेत्रमा ठूला आयोजना सुरु भइरहेका छन् । त्यो सम्पन्न हुँदासम्म लाइनमा समस्या आउने उहाँले बताउनु भयो । उक्त योजनाका लागि रुख कटान, फडानी कार्यमा सम्बन्धित निकय वा राज्यबाट खुकुलो, लचिलो वा व्यवहारिक बनाइएन भने विद्युतको विकासमा फड्को मार्न नसकिने उहाँको भनाई छ । 


    उदीराम चाैधरी
    लेखकबाट थप