काठमाडौं, ३० मंसिर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले कम्बोडिया–भैरहवा–कम्बोडिया सिधा उडानको प्रस्ताव गर्नु भएको छ।
कम्बोडियाका संस्कृति तथा धार्मिक मामिलामन्त्री चाई बोरिनसँग आज भएको भेटमा मन्त्री पाण्डेले कम्बोडिया–भैरहवा–कम्बोडिया सिधा उडानको प्रस्ताव गर्नुभएको हो।
मन्त्री पाण्डेले सरकारले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने वायुसेवा कम्पनीलाई दिएको सहुलियतसमेत जानकारी गराउनु भएको थियोे ।
भेटमा दुवै देशका प्रमुख बौद्ध तीर्थस्थललाई जोड्ने गरी ‘बौद्ध सर्किट’ को रूपमा विकास गर्न सकिने, पर्यटन प्रवर्द्धनका लागि दुवै देशबीचमा कला, सङ्गीत र साहित्यमा सहकार्य तथा सांस्कृतिक महोत्सव कार्यक्रम र पर्यटन बोर्डबीच साझेदारी गर्न सकिने विषयमा छलफल भएको थियो ।
दुवै देशका युनेस्को विश्व सम्पदा क्षेत्रको संरक्षण र प्रवर्द्धनमा सहकार्यको सम्भावना, सांस्कृतिक समझदारी र सद्भावलाई गहिरो बनाउने उद्देश्यले युवा र शैक्षिक आदान प्रदान लगायत विषय पनि छलफल भएको मन्त्री पाण्डेको सचिवालयले जनाएको छ ।
पारस्परिक पर्यटनलाई प्रोत्साहित गर्न प्रत्यक्ष उडान र भिसा प्रक्रियामा सहजीकरणको आवश्यकताबारे दुई मन्त्रीबीच विचार विमर्श भएको थियो ।
भेटमा संस्कृति तथा धार्मिक मामिलामन्त्री बोरिनले मन्त्री पाण्डेलाई कम्बोडियाको औपचारिक भ्रमणको निम्तासमेत दिएको मन्त्री पाण्डेको सचिवालयले जनाएको छ ।
